१० बिगाहा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेतीमा : थापा

दाङ ।  तुलसीपुर उपमहानगरपालिका ५ बस्ने राजु थापाले तुलसीपुर १२ र १६ र मा गरी विगत ४ वर्षदेखि १० बिगाहा जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तुलसीपुरमा होटल व्यवसाय पनि गर्दै आइरहेका छन् ।  कोरोनाको बेलामा सबै क्षेत्रहरू बन्द भएपछि उनी लगायत केही युवाहरू मिलेर तरकारी खेती गरेको भएयता पनि पछि अरु साथीहरूले समय अभावका कारण यो व्यवसायबाट हात झिकेपछि अहिले उनले मात्र गर्दै आइरहेका छन् ।

उनले भने,‘ कोरोनाका कारण पहिलो चरणमा लकडाउन भएपछि सबै व्यापारीहरू बन्द भएपछि ४ /  ५ जना साथीहरू मिलेर यो व्यवसाय शुरु गरेका थियौँ । पछि अरु साथीहरू विभिन्न कारणले समय दिन नपाएपछि छाड्नु भयो । मैले अहिलेसम्म निरन्तर गर्दै आएको छु ।’ तुलसीपुर १२ डोक्रेनामा ७ बिगाहा र तुलसीपुर १६ मा ३ बिगाहा गरी जम्मा १० बिगाहामा विभिन्न खालको तरकारी खेती गर्दै आइरहेको समेत उनले बताए । यस्तै उनले पछिल्लो समय वर्षाका कारण धेरै टमाटर खेतीमा क्षति पुगेको समेत बताए ।

उनले भने,‘ अहिलेको सिजनको लागि टमाटर खेती गरिएको थियो । निरन्तर वर्षाका कारण करिब डेढ बिगाहा जतिमा रहेको टमाटर पुरै क्षति भएको छ । टनेलबाट खेती गर्नु पर्ने हुन्छ । तर, खर्च धेरै लाग्ने भएकाले जोखिम लिएर गरेको खेतीमा ठूलो क्षति भयो ।’ उनका अनुसार अहिले टमाटर, काँक्राहरू बिक्री भइरहेका छन् । अबको केही दिनमा काउली, भान्टा लगायतको तरकारीहरू तयार हुन्छन् । अहिले दैनिक दिन बिराएर १५ र २० क्विन्टल जति टमाटर र काँक्रा उत्पादन भइरहेको समेत उनले बताए ।

विचौलियाको मार
उनका अनुसार आफूहरूले उत्पादन गरेका तरकारीहरू बिचौलियाहरूका कारणले गर्दा भने जति मूल्य पाइदैन् । उनले भने,‘ दुई तिन दिन अगाडि ५० रुपैयाँ किलो बिक्री हुने टमाटर अहिले ३० रुपैयाँ किलो बिक्री गर्नु पर्छ । भारतबाट आएको भन्दै मूल्य घट्ने गरेको छ । जसले गर्दा पनि हामी जस्ता किसानहरूलाई समस्या भइरहेको छ ।’

यस्तै उनले स्थानीय सरकारले आफूहरू जस्ता किसानहरूले उत्पादन गरेको बस्तुको बजारिकरणको व्यवस्थापन गरिदिए सहज हुने पनि बताए । ‘ एउटा बिरुवालाई उत्पादन गर्न करिब ४० रुपैयाँ खर्च हुन्छ । त्यहीबाट उत्पादन भएको बस्तु हामीले बिक्री गर्दा ५ र १० रुपैयाँमा बिक्री गर्नु पर्ने स्थिति रहेको छ । पैसा जति अरुले कमाउँछन् । हामीले त दुख मात्र गर्ने हो । त्यसैले गर्दा हामीलाई निकै समस्या भएको छ ।’ वार्षिक कठ्ठाको २५ सय रुपैयाँको दरले जग्गा भाडामा लिएको पनि उनको भनाइ छ । अहिले कृषि फर्ममा एक जना प्राविधिक सहित ८ जना कर्मचारीहरू रहेको उनले बताए ।

करिब ६ सय किसान जिल्लामा व्यवसायिक तरकारी खेती गर्दै

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा ५७५ जना किसानहरूले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । व्यवसायिक रुपमा गरेको खेती र अन्य किसानहरूले गरेको खेतीले जिल्लामा ९६ हजार ५२० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको समेत उनको भनाइ छ । त्यस मध्य ३० हजार २९५ मेट्रिक टन तरकारी जिल्ला बाहिर जाने गरेको पनि उनले बताए ।

अन्य तरकारी जिल्लाका स्थानीय बजारहरूमा बिक्री हुने भन्दै उनले दाङ तरकारीले आत्मनिर्भर रहेको समेत बताए । उनले भने,‘ जिल्ला तरकारीमा आत्मनिर्भर बनेको छ । तर, अफ सिजनमा कहिँले काहीँ जिल्ला बाहिरबाट तरकारीहरू ल्याउनु पर्छ, भने यहाँ उत्पादन भएको तरकारी पनि बाहिर जान्छ ।’

उनका अनुसार तरकारी खेती गर्न किसानहरूलाई रोग र प्रकृतिबाट पनि जोखिम रहेको छ । उनले भने,‘ हामीले त्यो जोखिम कम गर्नको लागि किसानहरूलाई प्लाष्टिकका टनेलमा खेती गर्न सुझाव दिएका छौँ । कतिपयलाई विभिन्न कार्यक्रम अन्तर्गत टनेलहरू दिएका छौँ ।’

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस