मल्टिप्लेक्स सिनेमा हल सञ्चालन

दाङ । दाङमा  ‘भिएफएक्स सिनेमाज’ नामक जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ । दुई युवा व्यवसायी विजय रावत र चेतनजंग रानाले करिब २० करोडको लागतमा हल शुक्रबारदेखि  सञ्चालनमा ल्याएका हुन् । दुईवटा अडिटोरियम रहेको हलमा जम्मा ४१२ सिट क्षमता रहेकोमा   एउटामा १६५ र अर्कोमा २४७  सिट क्षमता छ । भिएफएक्स सिनेमाज प्रालि अन्तर्गत सञ्चालनमा आएको हल घोराही उपमहानगरपालिका ८ सौंडीकुला चोकबाट करिब ४ सय मिटर दक्षिणतिर अवस्थित रहेको छ।

हल सञ्चालक रावत र  रानाले संयुक्त रुपमा शुक्रबार बिहान साढे ८ बजेको शो मा नेपाली चलचित्र ‘परदेशी २’ लाई स्क्रिनिङ गर्दै हलको औपचारिक शुभारम्भ गरेका थिए  ।  हलको निर्माण ३ वर्षअघिदेखि सुरु गरिएको थियो । जग्गासहित करिब २० करोडको लगानीमा निर्माण भएको हल कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माणमा ढिलाई भएको थियो ।

अन्य ठाउँमा  थ्रिडीसहित सबै सिनेमा चल्ने हलहरू निर्माण भइसक्दा पनि जिल्लामा हालसम्म गुणस्तरीय हल नभएको अवस्थामा  त्यसैलाई  मध्यनजर गर्दै दर्शकको चाहना ध्यानमा राखेर हामीले मल्टिप्लेक्स सिनेमा हलमा लगानी गरेको सञ्चालक रावतले बताए ।   उनले आफ्नो हलमा विदेशी भन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने पनि बताए । ‘ फिल्म नै चलेको छैन, भने त माया प्रेमले मात्र हल चल्दैन । राम्रो चलेको नेपाली फिल्मलाई पीडित हुने अवस्था आउन दिने छैनौँ,’ उनले भने । 

अर्का सञ्चालक रानाका अनुसार भिएफएक्स ब्रान्डलाई मल्टिप्लेक्स चेनको रूपमा देशव्यापी विस्तार गर्ने योजना रहेको छ । जिल्ला पछि काठमाडौँमा हल खोलिने र त्यस पछि देशैभर विस्तार गरिने योजना रहेको उनले बताए । घोराहीमा  गणेश हल, मनकाशी हल र स्वर्गद्वारी हल गरि तीनवटा हल सञ्चालनमा छन् । जिल्लाभर भएका ९ वटा हल मध्ये कोरोना कहर पछि भने अन्य ६ वटा हल सञ्चालनमा आउन सकेका छैनन्। 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस