धान सुक्दै गएपछि किसानहरू चिन्तित

दाङ । दाङको दंगीशरण गाउँपालिका ५ पोटलिका कालुराम चौधरीले घर अगाडि ७ कठ्ठामा धान खेती गरेका छन् । करिब २ हप्ता अघि थोरै धान सुक्न सुरु ग¥र्याे । उनले थान सुक्न थालेपछि गाउँपालिकाको कृषि कार्यालयमा सम्पर्क गरे । त्यसपछि उनले फड्के कीराको औषधि प्रयोग गरे । तर, त्यो कीरा नियन्त्रण भएन, बरु दिनप्रतिदिन धान सुक्दै गएपछि उनी चिन्तित बनेका छन् । उनले भने,‘ गाउँमा शुरुमा मेरो खेतमा नै यस्तो देखियो । घर नजिकै ७ कठ्ठामा लगाएको धान पुरै सुक्न लागेको छ । अन्य ठाउँमा गरी २ बिगाहामा पनि यही धान लगाएको छु । त्यहाँ पनि यस्तै समस्या रहेको छ । अन्य धानमा भन्दा मैले एमपी ३०–३० नामक धान लगाएको हुँदा त्यसमा यस्तै समस्या देखिएको छ । ’
धान भर्खरै पसाउन लागेको र कोट सुक्दै गएको समेत उनको भनाइ छ । उनका अनुसार गत वर्ष यस्तो समस्या नभएको भएयता पनि यस पटक देखिएको छ । धान यसरी सुक्दै गएमा सोच जस्तो उत्पादन नहुने समेत उनको भनाइ छ ।
सोही ठाउँका धन बहादुर वलीको पनि करिब २१ कठ्ठा खेतमा लगाएको धान सुक्दै गएको छ । उनले पनि यो धानमा समस्या देखिएको र अन्य धानमा कुनै समस्या भएको बताए धान सुक्दै गएपछि गाउँपालिकालाई जानकारी गराएको भएयता पनि कुनै सहयोग नपाएको उनले गुनासो गरे ।
उनले भने,‘ धानमा समस्या देखिएपछि सहयोगको लागि गाउँपालिकामा भन्दा बजेट छैन्, भने जवाफ आयो । मैले १८ सय औषधि किनेर प्रयोग गरे, तर त्यो काम लागेन । नेताहरू चुनावको बेला मात्र किसानको लागि यो गर्छौ, भन्ने चुनाव जितेपछि किसानहरू समस्यामा नहेर्ने ? हामी सहयोगको लागि कहाँ जाने ?’ उनका अनुसार यस्तो समस्या गाउँभरी नै देखिएको छ । जसले गर्दा किसानहरू धेरै चिन्तित भएको छन् । वर्षदेखि खाने खेती भएको भन्दै धान सुक्दै गएपछि ६ महिना खानको लागि पनि उत्पादन हुने अवस्था नरहेको उनको भनाइ छ ।
यस्तै राप्ती गाउँपालिकामा पनि पड्क कीराको प्रकोप रहेको छ । गाउँपालिका ५ का किसान मदन पोख्रेलले करिब ८ कठ्ठामा लगाएको धान कीरा कारण पुरै नष्ट भएको छ । कीरा मार्नको लागि औषधि प्रयोग गरेको भएयता पनि धान पुरै नष्ट भएको उनको भनाइ छ । अहिले उनको धान आधा भन्दा बढि कीरा कारण सुकेर पराल भएको छ । शुरुमा यो समस्या थोरै ठाउँमा देखिएको थियो । तर, उनले गाउँपालिकाबाट कृषि प्राविधिकहरू बोलाएर समस्या देखाएका थिए । प्राविधिकहरूले केही औषधि दिएपछि उनले त्यो औषधि धानमा धर्केका थिए । तर, किराले अहिले आधा भन्दा बढि पसाउन लागेको धानलाई सुकाएर पराल बनाएको उनको भनाइ छ ।
उनले भने,‘ प्राविधिकहरूले शुरुमा दिएको औषधिले काम नगरेपछि मलाई फेरि अर्को औषधि दिनुभयो । त्यो पनि प्रयोग गरे । त्यसले पनि काम गरेन । फेरि अर्को औषधि दिनुभयो, त्यो पनि प्रयोग गर्दा कुनै काम गरेन । अहिले आधा धान सुकेर पराल भएको छ । यस वर्षको धान खेती शून्य नै भयो ।’ धानको पात पहेँलो हुँदै गयो । सुरुमा एक दुई वटा बोटबाट सुरु भएको रोग किराको प्रकोप पछि खेतै भरी फैलियो । धान पसाउने बेलामा खेत भरीको धान पहेँलो भएर सुकेर जाने गरेको छ ।
जिल्लामा फड्के कीरा र गवारोको प्रकोप
कृषि ज्ञान केन्द्र दाङमा अनुसार जिल्लामा फड्के कीरा र गवारोको प्रकोप देखिएको देखिएको छ । अहिले राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकामा यो समस्या देखिएको केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछाने बताए । उनका अनुसार खेतमा धेरै पानी जमेको भएकामा वा काँचो गोबर प्रयोग गरेको खण्डमा, धान बाक्लो रोपेमा यो कीराले आक्रमण गर्ने गर्दछ ।
यो कीराले धान रोपेको सुरुवाती अवस्थामा भेटाएमा धेरै नोक्सानी गर्ने भन्दै उनले धान फसाएर बालामा दूध मस्केको खण्डमा भेटाएमा त्यति क्षति नगर्ने समेत बताए । जिल्लामा ४ ÷ ५ वर्ष अगाडि देखिएको भएयता पनि यस वर्ष फेरि यो कीरा देखिएको भन्दै उनले धान रोप्दा पातलो रोप्नु पर्ने र खेतमा कहिलेकाहीँ सुख्खा रोप्नु पर्ने र काँचो गोबर प्रयोग गर्न नहुने समेत बताए ।
उनका अनुसार कुनै एक छिमेकीको धानमा यस्तो कीरा देखिएमा अर्को छिमेकीमा सर्ने सम्भावना कम हुन्छ । एउटै ठाउँमा पनि जहाँ पानी जमेको छ, त्यहाँ धेरै आक्रमण गर्ने र जहाँ पानी जमेको हुँदैन, त्यहाँ यो कीराले आक्रमण गर्ने भएकाले अरु भाइरल रोग जस्तो नसर्ने उनको भनाइ छ । यस्तै उनले राप्ती गाउँपालिकामा फड्क कीरा प्रकोप देखिएपछि आफूहरू त्यहाँ गएर अनुगमन गरेको र त्यहाँ कीराको आक्रमण गर्ने सुरुवाती अवस्था रहेको र धान पाक्न लागेको अवस्था भेटिएको हुँदा त्यहाँ धेरै क्षति हुनबाट जोगिएको समेत बताए ।