चलचित्र दर्ताका लागि अनलाइन प्रणाली लागू गर्न लागेको छौँ: प्रवक्ता बुढाथोकी

दाङ ।  चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बोर्डमा चलचित्र दर्ताका लागि अनलाइन प्रणाली लागू गर्न लागेको बताए ।  उनले सानो लगानीको चलचित्र पनि दर्ताका लागि विकास बोर्ड पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइन प्रणाली लागू गर्न लागेको बताए ।  

चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको स्वागत सम्मान एवं साक्षात्कार कार्यक्रममा बोल्दै  अहिले नयाँ चलचित्र दर्ताका लागि विकास बोर्ड जानुपर्ने बाध्यता छ । अब अनलाइन प्रणाली लागू गरेर सजिलो बनाउन लागेको समेत बताए । 

उनले  विदेशीको नक्कल गरेर नेपाली चलचित्र बन्न नसक्ने भन्दै नेपाली मौलिक कला, संस्कृतिमा आधारित चलचित्रमात्रै नेपाली चलचित्र हुने बताए ।  उनले नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि आफू निरन्तर लागेको समेत बताए ।  

‘हामी कला, संस्कृतिका धनी छौँ, ति विषयमा रहेर चलचित्र कम बन्ने गरेको अवस्था छ,’ उनले भने,‘ हरेक विविधतामा चलचित्रको कथावस्तु बन्न सक्छ भने छायाँङ्कनका लागि हिमाल, पहाड र तराई आवश्यक ठाउँ पनि छन् ।’ उनले दाङलाई चलचित्र छायाङ्कनको नगरी बनाउन थुप्रै सम्भावना रहेको समेत बताए ।

उनले विभिन्न जातजातिको बसोबास रहेको  जिल्लामा स्थानीय भेषभुषा, कला संस्कृति, रहन सहनलाई समेटेर चलचित्र निर्माण गर्न सकेमा जिल्लालाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने समेत बताए ।  हालै चलचित्र विकास बोर्डको प्रवक्तामा नियुक्त भएका उनी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान समेत चलाउँदै आएका छन् ।  चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले स्थानीय पालिकाले विभिन्न जातजातिको कला संस्कृति संरक्षण गर्नका गर्न लागि केही मात्रामा बजेट बिनियोजन गर्ने गरेपनि चलचित्रको माध्यमबाट ति देखाउने कुराहरूलाई ठोस रुपमा लैजान नसकिरहेको बताए ।  कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष बिरेन्द्र कुमार शाहले चलचित्र क्षेत्रमा भित्रिरहेका विकृति, विसंगतिलाई रोक्न विकास बोर्डले ध्यान पुर्‍याउनु पर्ने बताए । 

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस