३ वर्षमा सम्पन्न हुने पुल ७ वर्ष पुग्न लाग्दा पनि सम्पन्न भएन
दाङ । तुलसीपुर उपमहानगरपालिका १५ डुरुवाका मित्रलाल गिरीले डुरुवा —कोठरी जोड्ने हापुर खोलामा निर्माणाधीन पुल समयमा नबन्दा आफूहरूले धेरै सास्ती भोग्दै आएको बताए । खोलामा पुल निर्माण हुन लागेको करिब ७ वर्ष हुँदा पनि अहिलेसम्म पुल नबन्नुमा राज्यको लापरबाही भएको बताए । उनले भने,‘ पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा लगायतका नेताहरूले शिलान्यास गरेको पुल हो । शुरुमा यहाँ पुल बन्न लाग्दा हामी धेरै खुशी भएका थियौँ । तर, ८ वर्ष हुन लाग्दा पनि पुल निर्माण हुन नसक्दा यहाँका नागरिकहरूले बर्खामा निकै सास्ती भोग्नु पर्छ । हाम्रो वडा कार्यालय कोठरीमा छ । बर्खामा पुल नहुँदा यहाँका नागरिकहरू वडामा सेवा लिन जान ज्यान जोखिम बनाएर जानु पर्ने बाध्यता हुन्छ ।’
यस्तै उनले ३ वर्षमा बनिसक्ने पुल नबन्दा सबैलाई समस्या भएको भन्दै यस वर्ष पनि पुल बन्नेमा शंका गरे । उनका अनुसार यो पुल भन्दा पछि निर्माण भएका पुलहरू सबै सञ्चालनमा आइसका छन् । तर, यसको अवस्था यस्तो रहेछ । ठेकेदारहरू परिवर्तन भइरहने हुँदा पनि निर्माणको ढिला भएको छ । ‘ यहाँ अहिलेसम्म हामीले ठेकेदारलाई देखेका छैनौँ । कहिँले कुन आउँछ । कहिँले कुन आउँछ । गत वर्षसम्म एउटा स्ल्याप बनाएको थियो । अहिले २ वटा बनेको छन् । अहिले एउटा बनाउन बाँकी छ । यस वर्ष पनि बन्ने अवस्था छैन् । यो पुल बन्न १० वर्ष लाग्छ । एउटा पुल बन्न १० वर्ष समय लाग्छ, भने अनि कसरी होला हाम्रो देशको विकास ?,’ उनले भने
यस्तै उनले स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पुल निर्माणको लागि पहल नगर्दा ढिलाइ भइरहेको बताए । पुल निर्माणका कारण यहाँका नागरिकहरूले धेरै सास्ती भोगेको भन्दै ठेकेदारलाई कालो मोसो दल्ने तयारी गरेको भएयता पनि पछिल्लो समय काम गरेका हुनाले त्यसो नगरेको पनि उनको भनाइ छ । ‘हामीले कति पीडा भोगेका छौँ, भन्ने हामीलाई थाहा होला । मैले त जनता उठाउने लागेको थिए । तर, अलिकति काम गर्न लागेको हुनाले बसेका हौँ । अहिलेसम्म ठेकेदारलाई देखेका छौँ । राज्यले काम नगर्ने कम्पनीलाई कारबाही गर्नुको साटो म्याद थप्दै जाँदा पनि यस्तो समस्या हुने गरेको छ,’ उनले थपे ।
यस्तै अटो चालक सुरेश परियारले पनि समयमा पुल नबन्दा आफूहरूले सास्ती भोग्दै आएको बताए । उनले डुरुवाबाट कोठरी जानको लागि बर्खामा यात्रुहरूलाई खोलाको किनारसम्म ल्याएर छोड्ने गरेको बताए । उनले लामो समयसम्म पनि पुल निर्माण नहुँदा सबै नागरिकहरूलाई समस्या भएको बताए । यस्तै उनले विद्यार्थीहरूलाई समेत खोला पुल नबन्दा समस्या हुने गरेको बताए ।
उनले चाँडो भन्दा चाँडो पुल निर्माण गर्नको लागि राज्यले ध्यान दिनु पर्ने समेत बताए । उनले पनि यो भन्दा पछाडि निर्माण शुरु भएका पुलहरू निर्माण सम्पन्न भएयता पनि हापुर खोलाको पुल अहिलेसम्म बन्न नसक्नु दुखद भएको पनि बताए । ‘हाम्रो वडा कार्यालय कोठरीमा पर्दछ । कुनै पनि कामका लागि जाँदा यो खोला तर्नुपर्छ’, उनले भने, ‘तर खोलामा पुल नहुँदा हामीले समस्या भोग्दै आएका छौँ। अन्य समयमा भन्दा वर्षायाममा पुल नहुँदा धेरै भोग्नु पर्छ । ’ उनले डुरुवा र कोठरी दुवै ठाउँका बासिन्दाले पनि सास्ती भोग्दै आएको बताए । डुरुवाका बासिन्दा कोठरी आउँदा र कोठरीका बासिन्दा डुरुवातिर जाँदा समस्या भोग्दै आएको समेत उनको भनाइ छ ।

हामीले हाम्रोतर्फबाट हुने सबै सहयोग गरेका छौँ : कार्यवाहक वडाध्यक्ष
तुलसीपुर उपमहानगरपालिका १५ का कार्यवाहक वडाध्यक्ष मंगल चौधरीले आफूहरूले पुल निर्माणको लागि गर्नु पर्ने सबै सहयोग गर्दैै आएको बताए । उनका अनुसार निर्माण कम्पनीले यही असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने जानकारी दिएको भएयता पनि आर्थिक अभावका कारण समस्या हुने भएको छ ।
उनले भने,‘ अहिले पुलको निर्माण भइरहेको थियो । मलाई ठेकेदारले भन्नुभयो । अहिले कुनै पनि सडक विभागमा बजेट रहेन छ । बजेट नहुँदा तपाईँहरुले आफ्नो निकायबाट पलह गरिदिनुहोस् । बजेट आएमा असार मसान्तभित्र पुल निर्माण हुन्छ । ’ यस्तै आफूहरूले पुल निर्माणको लागि कुनै पनि हुने बाधा अवरोधहरु भएमा सहजीकरण गर्दै आएको पनि उनको भनाइ छ । उनले पैसाका अभावमा यस पटक पनि पुल निर्माण गर्न नसक्ने भनेर ठेकेदारले आफूहरुलाई जानकारी गराएको र आफूहरूले पनि आफ्नो तर्फबाट बजेटको लागि पहल गरेको बताए ।
३ वर्षमा निर्माण सक्ने सम्भौता
डुरुवा–कोठरी जोड्ने हापुर खोलामा पुल निर्माण हुन लागेको करिब ८ वर्ष हुन लाग्यो । २०७५ चैत्र १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्स्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याट बाहेक १० करोड ५० लाख २१ ह्जार ४ सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
शुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो । शुरुमा सम्झौता भएको मितिदेखि १ वर्षसम्म उक्त पुलको काम भए पनि त्यसपछि भने लामो समय पुल निर्माणको काम रोकिएको थियो । तर निर्माण कम्पनीले बारम्बार विविध कारण देखाउँदै म्याद थप्दै आएको छ । पछिल्लो पटक २०७७ साल पुस २८ गतेसम्म काम सम्पन्न गरी सक्नुपर्ने भन्दै म्याद थप गरिएको थियो । त्यसपछि फेरि २०८० असार मसान्तसम्मको लागि म्याद थप भएको छ ।
सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर विकेश लाखेका अनुसार स्थानीय सडक अन्र्तगत हापुर खोलामा पुल निर्माण कार्य भएको हो । अहिले निर्माण कम्पनीले काम तिव्र रुपमा गरेका कारण समय मै निर्माण हुनसक्ने उनको भनाइ छ । यस्तै उनले तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई जरिवाना हुने समेत बताए । तोकिएको समयमा काम सम्पन्न नभएमा शुरुको ठेक्का सम्झौताको रकम अनुसार ३ प्रतिशत दरले जरिवाना हुने पनि उनको भनाइ छ । यस्तै उनले अहिले बजेट अभाव रहेको पनि बताए । बजेट नभएको भन्दै उनले थप बजेटको लागि माग गर्ने समेत बताए ।


