बेमौसमी पानीका कारण किसानलाई हिउँदे बाली भित्र्याउन समस्या

दाङ ।  बेमौसमी पानीका कारण जिल्लामा किसानहरूलाई हिउँदे बाली भित्र्याउन समस्या भइरहेको छ । खेती गर्ने समयमा पानी नपरेका कारण किसानहरूले समस्या पाइरहेको  अवस्थामा अहिले खेतबारीमा उत्पादन भएको अन्नपात भित्र्याउने बेला पानी परेका कारण समस्या भइरहेको किसानहरूको भनाइ छ । यस्तै तुलसीपुर उपमहानगरपालिका १५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण खेतबारीमा उत्पादन  भएको अन्नबाली स्याहार्न समस्या भइरहेको बताइन् ।

विगतका वर्षमा भन्दा पनि यस  पटक अन्नबाली स्याहार्ने बेला पानी आएको हुनाले समस्या भएको  उनले बताइन् । उनले भने,‘ खेतबारीमा अन्नपात रोपेपछि पानी नै आएको थिएन । जसोतसो कुलाबाट पानी ल्याएर सिँचाइ गरेका थियौँ । अब पाकेको बाली स्याहार्ने बेला पानी परिरहे पछि  कुहिएर जान्छ, की भन्ने डर छ । एक त समयमा पानी नपर्दा भनेको जस्तो अन्नपात फलेको छैन् । त्यसमा पनि पानी आएका कारण खेतबारी  मै कुहिएर जाला जस्तो छ ।’यस्तै तुलसीपुर १५ डुरुवाकी प्रमिला चौधरीले खेतबारीबाट तोरी, मुसुरो काटेर त्यतिकै थन्काएर राखेको बताइन् ।

उनले अहिले पानी परिरहेका कारण काटेर राखेको तोरी, मसुरो खलियानमा कुहिन लागेको पनि बताइन् । उनले गत वर्षको भन्दा यस पटक राम्रो अन्न फलेको  भएयता पनि पानीका कारण भित्र्याउन नपाएको पनि बताइन् । उनले भनिन्,‘ तोरी , मसुरो काटेर  भित्र्याउन लागेको बेला पानी आएर सबै भिजाएको छ । पानी परिरहन्छ । सबै कुहिँन्छ जस्तो छ । अहिले आएको पानीले हामी जस्ता किसानहरूलाई फाइदा गरेको छैन् । पानीको आवश्यक परेको बेला आउँदैन । अहिले पानीको आवश्यक  नभएको बेला केही दिनदेखि आइरहेको  छ । खलियानमा राखेको तोरी, मसुरो कुहिएला जस्तो भयो । ’

यस्तै पानीका कारण मसुरो, चना कुहिएको अर्का किसान तुलसीपुर १५ कञ्जवारका झुपलाल बुढाथोकीले बताए । उनले पनि पानीका कारण काटेर राखेको मसुरो, चना भिजेको भन्दै अब यस्तै पानी आइरहेमा कुहिएर जाने पनि बताए । उनले भने,‘ हामी जस्ता किसानलाई जता भएपनि पीडा मात्र हुन्छ । कहिँले पानी नपाएर पीडा हुन्छ । कहिँले पानी आएर पीडा नै हुन्छ । न समय मै मलखाद नै पाउँछौँ ।  दुख मिहेनत गरेर खेतीपाती गर्दा पनि राम्रोसँग स्याहार्न पाइएको छैन् । ’ यस्तै उनले खेतमा गहुँ पाकेर अब भित्र्याउने अवस्था रहेको भन्दै पानी कारण त्यो पनि काट्न नपाएको बताए । उनका अनुसार केही दिन देखि पर्ने थालेको पानीका कारण गाउँका सबै किसानहरूले यस्तै समस्या भोग्दै आएका छन् ।

समयमा पानी नपर्दा केही अन्न उत्पादन नभएपछि किसान चिन्तामा

जिल्लामा केही किसानहरू पानीका कारण अन्न स्याहार्न पाएका छैन्, भने आकाशे पानीको भरमा सिँचाइ गर्ने तुलसीपुर ३ बल्लेका किसानहरू भने समयमा पानी नपर्दा यस पटक छरेको बिउँ पनि उत्पादन नभएको बताउँछन् ।  स्थानीय बीर बहादुर वलीका अनुसार बल्ले उपमहानगरको विकट क्षेत्रमा पर्ने गर्दछ । जहाँ सिँचाइ सुविधा नहुँदा किसानहरूले आकाशे पानीमा भरमा खेती गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

उनले भने,‘ यहाँ खानेपानीको त समस्या छ । सिँचाइ पानी कहाँबाट पाउनु रु सिँचाइ सुविधा नहुँदा बल्लतल्ल एक मुरी जति अन्न फल्थ्यो होला । तर यस पटक हिउँदे खेती लगाएको समयमा पानी नपर्दा रोपेको बिउँ पनि नउठ्ने अवस्था रहेको छ । ’ जग्गा जमिनमा भनेको जस्तो अन्न उत्पादन नहुने भन्दै  अन्नपात बेसाएर खानु पर्ने बाध्यता रहेको पनि उनले बताए । यस्तै आफ्ना ठाउँका करिब ७५ प्रतिशत किसानहरूले  आकाशे पानीको भरमा खेती गर्ने गरेको पनि उनले बताए ।यस्तै सोही ठाउँकी दिपा पुनको पनि अवस्था उस्तै रहेको छ । पानीका अभावका कारण खेतीपाती गर्दा राम्रोसँग उत्पादन नहुने हुँदा ६ महिनासम्म पनि नपुग्ने गरेको उनको भनाइ छ ।

यस पटक पनि खेतबारीमा अन्नपात लगाएपछि पानी नपर्दा सबै सुकेर गएको उनले बताइन् । उनले भनिन्,‘ यहाँ हामी सबैले आकाशे पानीको भरमा खेती गर्ने गर्छौ । तर, यस पटक समयमा पानी नपर्दा  बारीमा लगाएका सबै गहुँ सुकेर गए ।  अहिले  पानी परेर हामीलाई केही काम लाग्दैन । ’ यस्तै उनले गाउँमा खानेपानीको समस्या रहेका पनि बताइन् ।यस्तै अर्का स्थानीय धनवीर पुनले आफूहरूकै मुख्य पेशा भनेको कृषि भएयता पनि आफूहरूलाई राज्यले नहेरेको गुनासो गरे ।

अहिले गाउँमा खानेपानी मात्र भएको भन्दै यसलाई व्यवस्थित गर्न सकेमा थोरै राहत मिल्न सक्ने भएयता पनि स्थानीय सरकारले कुनै चासो नदिएको गुनासो गरे ।   यस्तै उनले अहिले समयमा पानी नपरेका कारण खेतबारीमा अन्नपात उत्पादन नहुने भन्दै आफूले बाख्रा पालन गर्दै आइरहेको अवस्थामा बाख्रालाई कुनै समस्या भएमा उपचारको लागि उपमहानगरले कुनै सेवा नदिएको गुनासो गरे  ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस