नेपाल प्रहरीको आइजिपीमा कुँवर नियुक्त

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर ३० औं प्रहरी महानिरीक्षकमा पदोन्नति भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शनिबारबाट लागू हुने गरी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो। कुँवर कम्तिमा २ वर्षका लागि नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन्। कुँवरकै कार्यकालमा ३० वर्षे सेवाअवधि हटे उनको कार्यकाल थप लम्बिने छ।
३० वर्षे हटाउने संघीय प्रहरी ऐन ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ। एसएसपी हुँदासम्म बरियतामा पछि रहेका कुँवर डीआईजीबाट अगाडि लागेका थिए। २०७५ सालमा १४ जना एसएसपी हुँदा कुँवर १३ औँ नम्बरमा थिए। तर डीआईजीमा पहिलो नम्बरमा रहे। त्यसपछि एआईजीमा पनि पहिलो नम्बरमै रहँदै आईजीपीमा बाजी मारेका हुन्। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन्।
व्यावशायीक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए। २०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए।
तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावि आईजीपीका रुपमा हेरिएको थियो। २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरियतामै बढुवा भए। त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका छन्।
प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए। त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए।
उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन्। यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए। प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए।
प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ। प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए। संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ। कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन्।