अस्पतालमा उपकरण छन्, तर, संचालनमा छैनन्

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा हाल २३ जनाले मासिक डाइलासिस गर्दै आएका छन्। पछिल्लो समय मिर्गौलाका विरामी बढेकाले ४८ जना पालो कुरेर बसेका छन्। यहाँ सल्यान, रुकुम, रोल्पाबाट विरामीहरू सेवा लिन आउँछन्। गत साउनमा अस्पतालका लागि ८ वटा डाइलासिस मेसिन र ५ वटा पेसेन्ट मनिटर आएका थिए तर ती ८ वटा मेसिन अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन्।

अस्पतालकी डाइलासिस इन्चार्ज लिना भँडेलका अनुसार अहिले पुराना ४ वटा मेसिनबाट मासिक २३ जनाको डाइलासिस भइरहेको छ। पुराना मेसिन ५ वटा भए पनि वर्षौंदेखि एउटा मेसिन बिग्रिएर थन्किएको छ। २३ जनामध्ये कसैले हप्ताको २ पटक र कसैले ३ पटक डाइलासिस गर्ने गरेका छन्। उनले भनिन्, ‘अहिले ४ वटा मेसिनबाट २३ जनालाई सेवा दिँदै आएका छौँ। यो सेवा विरामीले मिर्गौला प्रत्यारोपण वा रिफर भएर वा निधन भएपछि मात्र गरिदैन। त्यसले गर्दा पनि पालो कुरेर बसेकाहरूको पालो कहिँले आउँछ भन्न सकिन्न।’

उनले नयाँ मेसिन सञ्चालन गर्न ठाउँका साथै दक्ष जनशक्तिको अभाव हुने बताइन्। अहिले ४ वटा मेसिन सञ्चालन गर्ने जनशक्ति भएकाले सबै मेसिन सञ्चालनमा आए जनशक्तिको कमी हुनेछ। विरामीको अवस्था हेरेर साताको दुई पटकसम्म डाइलासिस गर्नुपर्छ। मिर्गौला प्रत्यारोपण नगर्दासम्म डाइलासिस गरिरहनुपर्ने भएकाले पनि विरामी सरकारी अस्पताल आउँछन्। यद्यपि उनीहरूले सरकारीमा पनि भनेजस्तो सेवा सुविधा नपाएको गुनासो गर्छन्। तुलसीपुर उपमहानगर-१० का जीवनप्रसाद पुनले श्रीमतीको डाइलासिस गराउन थालेको ५ वर्ष भयो।

उनले शुरुमा निजी अस्पतालमा गरे पनि करिब ३ वर्षदेखि अस्पतालमा नियमित डाइलासिस गराउँदै आएका छन्। राज्यले मिर्गौलाका विरामीले उपचारमा सहयोग गरे पनि अस्पतालमा डाइलासिस मेसिनको शुल्क बाहेक अरू खर्च लाग्ने गरेको बताए। उनले भने, ‘बाहिर डाइलासिस गर्दा एकपटकमा १०-१५ हजार खर्च हुन्थ्यो। सरकारी अस्पतालमा पनि १५ सयसम्म खर्च हुने गरेको छ। मेसिनको मात्र पैसा लाग्दैन। अरू सेवाका लागि पैसा लाग्छ। कहिले एउटै सुई किन्दा १२-१३ सय खर्च हुन्छ।’ यस्तै उनले पछिल्लो समय मिर्गौलाका विरामी बढ्दो अवस्थामा अब राज्यले उपचार गर्न पनि मेसिन थप्नुपर्ने बताए।

उनले भने, ‘मिर्गौला फेर्न धेरै खर्च लाग्छ रे। हामी जस्ता गरिबसँग त्यति धेरै पैसा हुँदैन। म जस्ता धेरै पालोमा बस्नु भएको छ। यस्तै अवस्था भए उपचार गर्न पालो नआईकनै मर्नुपर्ने हुन्छ। त्यसैले अस्पताल वा राज्यले ध्यान दिनुपर्छ।’ यसैगरी कोरोना महामारीका वेला बच्चाको उपचारका लागि एनआईसीयू तथा पीआइसीयुका मेसिन तथा शय्या आएका थिए। ती मेसिन तथा शय्या पनि अहिले जनशक्तिको अभावमा प्रयोगविहीन छन्। अस्पतालकी एचडीयु वार्ड इन्चार्ज सुष्मा वलीका अनुसार कोभिड भएका बच्चालाई राखेर उपचार गर्ने भनेर सामान आए पनि अहिलेसम्म प्रयोग सञ्चालन हुन सकेनन्।

त्यस्ता ३० वटा शय्या रहेको र आइपुगेको करिब एक वर्ष भएको पनि उनको भनाइ छ। उनले सामान हुँदा पनि दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा ल्याउन नसकिएको बताइन्। उनले भनिन्, ‘वार्डमा मात्र नभई अस्पतालमै जनशक्तिको अभाव छ। एचडीयु सञ्चालन गर्न आवश्यक स्टाफ नर्स, डाक्टरहरू छैनन्। आइसीयुमा ३० शय्या छन् तर हामीले १० वटा शय्या एचडीयु भनेर सञ्चालनमा ल्याएका छौँ। आइसीयु नहुँदा अलि जटिल प्रकारका विरामीलाई एचडीयुमा राखेर उपचार गरिन्छ तर आइसीयुकै लागि भर्ना हुने विरामीलाई बाहिर रिफर गर्नुपर्छ। अहिले भएको जनशक्तिले आइसीयु सञ्चालन गर्न पुग्दैन।’

आइसीयु वा एचडीयु सञ्चालन गर्न एक सिफ्टमा न्यूनतम ३ जना स्टाफ नर्स चाहिने भएको भन्दै अहिले एकजनाले एक सिफ्ट हेर्ने र कम्तिमा १५ जना विरामीलाई हेर्नुपर्ने बाध्यता रहेको समेत उनको भनाइ थियो। उनले भनिन्, ‘एकजना नर्सले १५ जना विरामीलाई जनरल वार्डका जस्तो विरामीलाई हेर्न सकिदैन। यहाँ एकदमै गम्भीर विरामी भर्ना भएका हुन्छन्।’ यस्तै उनका अनुसार कहिलेकाहीँ स्टाफ विरामी हुँदा वा कुनै समस्या भएमा एकजनाले डबल डिउटी गर्नुपर्ने बाध्यता छ।

शुरुमा अञ्चल अस्पतालको रूपमा ५० शय्याबाट स्थापना भएको अस्पताल अहिले प्रादेशिक भएको छ। पुरानै संरचनाअनुसारको जनशक्ति हुँदा अस्पताललाई अहिले अरू सेवा दिन समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ओम अर्यालले बताए। उनका अनुसार साइक्र्याटिक बाहेक अरू सबैमा विशेषज्ञ डाक्टरहरू रहेका छन् तर मेडिकल अफिसर र स्टाफ नर्सहरूको कमी छ। उनले भने, ‘५० शय्याको अस्पताल हो। हामीले एक सयभन्दा बढी शय्या सञ्चालन गरेका छौँ। ५० शय्याको अस्पतालमा दरबन्दी पनि त्यही हुने भएकाले थप दरबन्दी नहुँदा सेवा दिन कठिनाइ भएको छ। अस्पतालले अन्य सेवा विस्तार गर्न लागे पनि जनशक्तिको समस्या आउँछ।’

उनले एनआईसीयू तथा पीआइसीयु सञ्चालनका लागि भवन तयार भइसके पनि अस्पताललाई हस्तान्तरण नभएको र जनशक्ति र आर्थिक अभावले गर्न समस्या भइरहेको पनि बताए। प्रदेश सरकारले ९८ लाख बजेट दिए पनि त्यो शीर्षक अनुसार नभएको हुँदा अहिलेसम्म नआएको पनि उनको भनाइ थियो। उनले अस्पतालमा उपचार गर्ने विरामीहरू अन्य सेवा लिन बाहिर जान नपरोस् भन्ने आफूलाई लागे पनि विभिन्न कारणले सेवा सुविधा दिन नसकेको उनले बताए। उनका अनुसार अहिले बच्चाहरूको उपचारका लागि ४ वटा शय्या सञ्चालनमा रहेका छन्। उनले भने, ‘डेलिभरी गराइन्छ तर हामीसँग ४ वटा मात्र शय्या छन्। यसलाई बढाउन म लागिपरेको छु तर मैले मात्र गरेर हुँदैन। प्रदेश सरकार संघीय मन्त्रालयबाट परामर्श लिएर गर्नुपर्छ।’​

अस्पतालमा अहिले ४ वटा मेसिनबाट मिर्गौलाका विरामीलाई डाइलासिस सेवा प्रदान गर्ने आएको मेसु अर्यालले बताए। उनका अनुसार गत साउनमा अस्पतालका लागि ८ वटा नयाँ मेसिन आए पनि ठाउँ, अर्थ र जनशक्ति अभावले सञ्चालनमा आएका छैनन्। यी मेसिन सञ्चालन गर्न आरो प्लान्टका लागि २५ लाख र अन्य आवश्यक उपकरण खरिद गर्न करिब ६० लाख रुपैयाँ आवश्यक पर्ने भए पनि बजेटको सुनिश्चितता नहुँदा समस्या भएको अस्पतालले जनाएको छ। जसका लागि फिजिसियन डाक्टर एकजना, स्टाफ नर्स १० जना र कार्यालय सहयोग २ जना आवश्यक पर्ने हुन्छ। त्यो जनशक्ति पनि नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।​​

अस्पतालका लागि आएका ८ वटा डाइलासिस मेसिनमध्ये डेढ महिनाअघि ३ वटा मेसिन नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको मेसु अर्यालले बताए। नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालन भइरहेका ४-५ वटा मेसिन एकैपटक बिग्रिएपछि केही समयका लागि त्यहाँ ३ वटा पठाइएको उनको भनाइ छ। उनले भने, ‘मन्त्रालय तथा विभागबाट सञ्चालनमा नआएका ४ वटा जति मेसिन नेपालगञ्ज पठाउन आदेश आएपछि पठाइएको हो। ती मेसिन त्यहाँबाट फिर्ता ल्याउने शर्तमा पठाइएको हो।’

तुलसीपुरमा अस्पताल स्थापना गर्न यहाँका बासिन्दाले निकै संघर्ष गरेका थिए। अस्पताल स्थापनाका लागि महापुराण समेत लगाइएको थियो।  सङ्घर्षबाट स्थापना भएको अस्पतालबाट नागरिकले भनेजस्तो सेवा सुविधा नभएको तत्कालीन अस्पताल निर्माण समिति संयोजक डिल्लीबहादुर बस्नेतले बताए। तत्कालीन १३ वटा अञ्चलमा अञ्चल अस्पताल भए पनि राप्तीमा नहुँदा आफूहरूले धेरै पटक पहल गर्दा समेत सुनुवाइ नभएपछि आन्दोलन गरेर स्थापना गरेको समेत उनको भनाइ थियो। संघर्ष समितिले २०६३ फागुन २६ गतेदेखि चैत ४ गतेसम्म तुलसीपुरमा श्रीमद्भागवत पुराण लगाएर सवा २ करोड रकम संकलन भएपछि अस्पतालको भवन निर्माण शुरु गरेको पनि उनले बताए।

उनले भने, ‘अहिले अस्पतालको पूर्वाधार राम्रो भएको छ। उपकरण पनि आएका छन् तर नागरिकले भने सेवा पाउन सकेका छैनन्। यसका लागि हाम्रो टिमले पटक पटक पहल गर्दै आए पनि कुनै सुनुवाइ भएन। अहिले अस्पतालमा राम्रो सेवा नपाएर विरामी बाहिर पठाउँदा हाम्रो मन दुख्छ। हाम्रो सङ्घर्षबाट स्थापित अस्पतालमा कहिले नागरिकले राम्रो सेवा पाउँछन् ?

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस