दाङबाट सिता एयरले शुरुमा हप्तामा एक पटक उडान भर्ने

दाङ । दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले हप्तामा एक पटक उडान भर्ने भएको छ । शुक्रबार दिउँसो एक बजेर १८ मिनेटमा नाइन एन– एजेएच कल साइनको सिता एयरको जहाज एयरपोर्टमा अवतरण गरेका थियो । एयरपोर्टमा परीक्षण उडान भरेको सिता एयरले पहिलो चरणमा हप्तामा एक पटक दाङ – काठमाडौँ उडान भर्ने सिता एयरका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहले बताए । उनले भने,‘ सिता एयरले दाङलाई काठमाडौँसँग सधैँ जोड्ने हिजोदेखि नै चाहना राखेको थियो । आज त्यसैलाई कार्यान्वयन गरौँ , भनेर पाएको पहिलो मौकामा हामी उफ्रिदै आएका हौँ । हामीलाई दाङबाट सबैले साथ सहयोग गरेमा हामी सानो तिनो घाटा भएपनि सेवा दिन तयार छौँ ।’

उनका अनुसार परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर अबको हप्ता १० दिनपछि नियमित उडान भर्नेछ । उनले यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने पनि उल्लेख गरे । उनले काठमाडौँबाट तराईका एयरपोर्टमा ठूला जहाजहरूलाई सेवा दिए झै आफूहरूले पनि भित्री मधेश र पहाडका जिल्लाहरूलाई हवाइ सेवाबाट काठमाडौँसँग सिधै जोड्ने योजना बनाएको पनि बताए ।

उनले भने,‘ हामी दुर्गम क्षेत्रका हवाइ सेवा प्रदायक हौँ । हाम्रा हरेक उडानहरू घाटामा भइरहेका छन् । त्यसैले हामीलाई भाडा समायोजनका कुरा गर्दा मन चसक्क हुन्छ । तर, हामीलाई त्यहाँ घाट भएर दाङमा नाफा गर्न आएका होइनौँ । हामीलाई नाफा हुने क्षेत्र अर्कै छ । हामीले वर्षमा ४ महिना त्यहाँ काम गर्छौँ । तर, हाम्रो उद्देश्य भनेको आन्तरिक हवाइ क्षेत्रमा नियमित सेवा दियौँ, भन्ने नै हो ।’

दाङबाट काठमाडौँ नेपाल एयरलाइन्सले पनि सेवा दिँदै आएको छ , तर त्यो सेवा नियमित भने छैन् । दाङ – काठमाडौँ नेपाल एयरलाइन्सले हवाइ सेवा दिँदै आएको भएयता पनि नियमित र हवाई भाडा महँगो हुँदा यहाँका नागरिकहरूले सेवा लिन नेपालगन्ज वा भैरहवा जानु पर्ने बाध्यता रहेको छ । तर, शुक्रबार निजी हवाई कम्पनी सिता एयरले परिक्षण उडान गरेपछि यो सेवा नियमित हुने र हवाइ भाडामा पनि कमी हुने विश्वास रहेको स्थानीय डिल्ली बहादुर रावतले बताए ।

उनले भने,‘ तुलसीपुरमा एयरपोर्ट रहेको छ । तर, यहाँ जहाज नहुँदा हामीलाई नेपालसंग, भैरहवा जानु पर्ने बाध्यता रहेको छ । यहाँबाट नियमित हवाई सेवा भएपनि सबैलाई यात्रामा सहज हुन्छ । तर, हवाइ भाडामा पनि कमी हुनु पर्छ । नेपालगञ्ज, भैरहवाको भन्दा भाडा महँगो भएपछि यात्रुहरू उति जान्छन् । उताको भन्दा केही बढि भएपनि हाल भएको भाडामा कमी भए यहाँ यात्रुहरू खोज्नु पर्ने अवस्था आउँदैन । दैनिक २ उडानसम्म हुनसक्छ ।’
उनका अनुसार तुलसीपुरबाट नेपालगन्ज बसको भाडा ४ सय रहेको छ । नेपालगन्ज एयरपोर्टबाट काठमाडौँ ६ हजारसम्म पुगिन्छ । तर, यहाँबाट जादा ९ / १० हजार लाग्छ । त्यसैले नेपालगन्ज र दाङको हवाइ दूरी लगभग उस्तै रहेको छ । उता ठूला जहाजले सेवा दिँदा भाडा सस्तो भएपनि यहाँबाट साना जहाजले सेवा दिँदा त्यहाँको भन्दा केही कम हुनु पर्ने उनको भनाइ थियो ।

दाङमा हवाइ सेवा नियमित नहुँदा दाङवासीहरू भैरहवा र नेपालगञ्जबाट गइरहेको अवस्थामा सिता एयरले दाङबाट सेवा दिन तयार भएपछि सबैलाई सहज हुने अर्का स्थानीय एकराज आचार्यले बताए । उनले शुक्रबार परीक्षण उडान गरेको सिता एयरले नियमित उडान गर्नेमा आफूले विश्वास गरेको पनि बताए । उनले भने,‘ म पनि सिता एयरको जहाजले परीक्षण गर्न लागेको सुनेर हेर्न आएको थिए । यहाँ भएको कुराहरू सुन्दा नियमित सेवा पाइन्छ जस्तो लागेको छ । भाडामा पनि कमी हुन्छ जस्तो लागेको छ । अरु भन्दा पनि हामीले हाम्रो ठाउँबाट नियमित जहाज चढेर काठमाडौँ जान पाउनु पर्छ, भन्ने नै हो ।’

उनले यहाँबाट नियमित हवाइ सेवा नहुँदा आफू धेरै पटक नेपालसंग , भैरहवाबाट सेवा लिएको पनि बताए । यस्तै, उनले यो एयरपोर्टमा साना जहाज मात्र नभइ ठूला जहाजहरू बस्न मिल्ने गरी एयरपोर्टको विस्तार गर्नु पर्ने पनि बताए । पटक– पटक एयरपोर्ट विस्तारको कुराहरू उठिरहेको भएयता पनि अहिलेसम्म काम नहुँदा आफूहरू दुखी भएको पनि बताए । उनले भने,‘ दुनियाँमा कस्ता कस्ता ठाउँमा एयरपोर्टहरू सञ्चालनमा आएका छन् । तर, हाम्रो ठाउँमा अहिलेसम्म ठुलो एयरपोर्ट बन्न सकेको छैन् । अब दाङबाट नेतृत्व गर्ने नेताहरूले ध्यान दिनु पर्छ । ’

तुलसीपुरमा रहेको एयरपोर्टको स्तरोन्नति र नियमित उडानको लागि तुलसीपुर उद्योग वाणिज्य संघले लामो समयदेखि निरन्तर रुपमा लागि परेको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले बताए । उनले आफूहरूले केही समय अगाडि निजी हवाइ सेवा समिट एयरसँग सम्झौता गरेर ९ महिनासम्म नियमित हवाई सेवा दिएको भन्दै अब पनि सिता एयरले नियमित उडान गरेमा यात्रुहरू नपाएको खण्डमा आफूहरूले भाडा बेहोर्ने समेत बताए ।

उनले भने,‘ हामीहरूको प्रमुख उद्देश्य भनेको यहाँ भएको संरचनाहरूलाई प्रयोग गरौँ भन्ने मात्र हो । पहिला इन्धन डिपो नहुँदा समस्या थियो । अब इन्धन डिपो पनि यही हुँदा भाडामा केही समायोजन हुनु पर्छ । भाडा महँगो हुँदा हवाइ सेवामा सबैको पहुँच पुग्दैन । यो हवाई सेवालाई नियमित गरौँ । हामी विमानलाई खाली उडाउन दिँदैनौँ । यात्रु नपाएर खाली उडेको दिन हामी त्यो हर्जाना तिर्न तयार छौँ ।’

यस्तै, तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले सिता एयरले मात्रै यात्रुहरू खोजेर सेवा दिन नसक्ने भन्दै उपमहानगर र वाणिज्य संघले त्यसमा सहयोग गर्ने बताए । उनले भने,‘ पहिला पनि उपमहानगर र उद्योग वाणिज्य संघ मिलेर यात्रुहरूको व्यवस्था गर्ने गरेका थियौँ । अहिले पनि यात्रुहरू खोज्न कार्यमा हाम्रो पहल हुनेछ । हामीले जहाजलाई खाली जान दिने छैनौँ ।’

उनले दाङबाट नियमित हवाई सेवा नहुँदा अहिले पनि हवाई सेवाको लागि कहिले नेपालगन्ज र कहिले भैरहवा कुद्नु पर्ने अवस्था रहेको उल्लेख गरे । उनले दाङको भूगोलमा आउँदा हवाइ सेवा नहुँदा अर्को भूमिबाट आउनु पर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्न आफूहरूले सहयोग गर्ने बताए । यस्तै, उनले नेपाल एयरलाइन्सले दाङबाट सेवा दिँदै आएको भएयता पनि त्यो नियमित नभएको पनि बताए । उनले भने,‘ पहिला हप्ताको ५ पटक हुन्थ्यो । त्यसपछि घटाएर ४ पटक हुँदै अहिले २ पटक हुन्छ । त्यो पनि नियमित छैन् । जसले गर्दा अहिले यात्रुलाई आज तुलसीपुरबाट हवाइ टिकट पाइन्छ रु भन्ने प्रश्न उठेको छ । सिता एयरले दाङ– काठमाडौँ नियमित हवाइ सेवा गरेमा यहाँबाट बाहिर जान बन्द हुन सक्छ ।’

जुम्ला– हुम्ला एयरपोर्टमा अवतरण गरेको महसुस भयो : पाइलट डंगोल

परीक्षणका क्रममा दाङको टरिगाउँ एयरपोर्टमा २ पटक अवतरण गरेका सिता एयरका पाइलट रविन्द्र डङ्गोलले धावनमार्गलाई विस्तार गर्नुपर्ने बताउँदै आकाशमा उड्ने चराको नियन्त्रण र एयरपोर्टको उत्तर तर्फ रहेका घरमा राखिएका टङ्की, पोल हटाउनुपर्ने बताए । उनले यहाँ एयरपोर्ट विस्तारको लागि जग्गा प्रसस्त भएपनि धावनमार्ग कम हुँदा जुम्ला– हुम्ला एयरपोर्टमा अवतरण गरेको महसुस भएको पनि बताए ।

यस्तै अहिले कै अवस्थामा रहेको धावनमार्गमा जहाजले ५ हजार ७ सय किलो मात्रै बोक्न सक्ने बताए । ६ हजार ४ सय किलो बोक्न सक्ने क्षमता भएको जहाज भएयता पनि धावनमार्गको दूरी छोटो हुँदा ५ हजार ७ सय किलो मात्र बोक्ने मिल्ने बताए । उनले सीताको १९ सिटे चार– डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको पनि बताए ।

उनले एयरपोर्टको दक्षिण तर्फबाट ( थ्रि–फोर ) अवतरण गर्दा केही रूखहरू भए पनि खासै समस्या नभए पनि केही रूखहरू काटे झनै सहज हुने पनि बताए ।हाल दाङदेखि काठमाडौंको न्यूनतम ८ हजार ८१० रुपैयाँ र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजार बढीदेखि अधिकतम १२ हजार भन्दा बढि रहेको छ । ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस