टरिगाउँ विमानस्थलमा अब हप्तामा पाँच दिन उडान
तुलसीपुर । दाङको तुलसीपुर १२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको ५ दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिन मात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यस अघि विहीबार, शुक्रबार र शनिबार मात्रै उडान हुने आएको थियो ।
पछिल्लो समय आईतबार र मंगलबार पनि उडान भर्ने गरेको उनीले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन पनि ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनीले बताइन् । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न पनि सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ”, उनीले भनिन् “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।” यात्रुहरुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरि तयारी गरेको समेत उनीले बताइन् ।
साथै निजि हवाई सेवासंग पनि समन्वय गर्ने गरि तयारी रहेको उनीको भनाई छ । “नियमित भएमा हामीले निजि क्षेत्रका प्लेन ल्याउने गरिरहेका छौं”, उनीले भनिन् “त्यसमा यात्रुहरुको माग कस्तो आउछ, त्यसमा भर पर्छ ।” केही दिन अघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल बायु सेवा निगमको १९ सिटे टुईनेटर जहाजले सेवा दिइरहेको छ ।
कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भएपनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिन मात्रै भएको थियो । जसले गर्दा यस क्षेत्रबाट हवाई सेवाकालागिभैरहवा र नेपालगञ्ज जाने अबस्था थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो संगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।
विस्तार पहल
विमानस्थलको धावन मार्ग विस्तारकालागि प्रक्रिया अगाडी बढेको छ । अहिलेको धावनमार्ग ७५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनकालागि इञ्जिनियरको टोली आएको समेत उपप्रमुख चौधरीले बताइन । “इन्जिनियर आएर डीपीआरका लागि सबै हेरेर गइसकेको छ”,उनीले बताइन् ।
एयरपोर्ट विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिबिधि अगाडी बढाएको छ ।

