स्थानीय सरकारसंग मल माग्दै किसान

तुलसीपुर । यहाँका किसानहरुले समयमै मल उपलब्ध गराउनका लागि स्थानीय सरकारसंग माग गरेका छन् । मंगलबार पालिकामा मल माग्न आएका किसानहरुले वास्तविक किसानहरुले मल नपाएको भन्दै तत्काल मल वितरण गर्दै आएका सहकारीको नियमन गर्न समेत आग्रह गरेका हुन् । मल वितरण गर्दै आएको कृषि सामग्री केन्द्रले मल सकिएको भन्दै यहाँका सहकारीमार्फत मल वितरण गर्न बन्द गरेको छ ।

तुलसीपुर ७ का किसान दुर्गाप्रसाद भण्डारीले माग अनुसार मल प्राप्त गर्न नसकेको भन्दै तत्काल आवश्यकताअनुसार मल उपलब्ध गराउन आग्रह गरे । उनले खेती योग्य जग्गा नै नभएको क्षेत्रमा रहेका सहकारीले मल वितरण गरिरहेकाले तत्काल त्यस्तो कार्य रोक्न आग्रह गरे । त्यस्तै अर्का किसान खगेश्वर पराजुलीले प्रत्येक वडाको खेती योग्य जग्गाको विवरणअनुसार मल वितरण गर्नुपर्ने बताए ।

नगरप्रमुख टीकाराम खड्काले मल खरिदको अधिकार संघीय सरकार र वितरण कोटाको अधिकार प्रदेश सरकारसंग रहेकाले स्थानीय सरकारले प्राप्त गरेको मल वितरणमात्रै रहेको बताए । उनले तत्कालै सहकारीहरुको नियमन गरेर कृषि सहकारीलाई मात्रै मल वितरणको व्यवस्था गर्ने बताए । उनले प्रदेश सरकारसमक्ष तुलसीपुर क्षेत्रमा खेती योग्य जमिन बढी भएकाले मलको कोटा थप्नका लागि माग गर्ने समेत बताए । नगरप्रमुख खड्काले मल वितरणमा दुरुपयोग रोक्नका लागि सहकारीमार्फत वितरण गरेकाले सहकारीका सदस्यमात्रै नभई सबै किसानलाई मल वितरण गर्नुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख धनराज गौतमका अनुसार साल्ट ट्रेडिङमा दर्ता भएका ४० वटा सहकारी संस्थालाई प्रत्येक सहकारीलाई ८० बोरा युरिया मल वितरण गरेको बताए । यस क्षेत्रमा यस पटक ३२ सय बोरा युरिया मल सरकारले उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस