तुलसीपुर १८ लाई बालश्रम मुक्त वडा घोषणा

दाङ । तुलसीपुर उपमहानगरपालिका १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बाल श्रममुक्त वडा घोषणा गरिएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ ,२ र ६ वडा बालश्रम मुक्त घोषणा भइसकेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले प्रतिबद्धता पत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गरेका हुन । तुलसीपुर उपमहानगरपालिकाको १८ मा १० जना बालबालिकाहरू व्यवसायिक र घरेलु कामदारका रुपमा रहेका थिए ।
ती मध्ये ७ जना अन्यत्रका र ३ जना वडा भित्रकै रहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिइन। १० जना बालबालिकाहरूलाई परिवारमै स्थानान्तरण गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका १६ र १७ लाई समेत बालश्रम मुक्त घोषणा तयारी गरिएको छ । बालश्रम मुक्त घोषणा बापत नगरप्रमुख टीकाराम खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मान पत्र प्रदान गरेका थिए । तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष माधव वलीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।