सिद्धार्थ राजमार्गमा पुन: पहिरो, सडक पूर्ण रूपमा अवरूद्द
पाल्पा । पाल्पा सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन् । गएराति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरूद्द बनेको हो ।
बिहीबार दिउँसोदेखि पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन सकेको छैन । बिहीबार २ घण्टा एकतर्फी रूपमा सडक खुलाइएको भएता पनि पुन पहिरो खस्दा यात्रुहरु भने अलपत्र परेका छन् । यस्तै नयाँ खोलिएको सडकमा समेत आज बिहान पहिरो खसेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
अहिले पनि पानी परेका कारण सडक खुलाउने काम गर्न असहज भएको छ । माथिबाट पहिरो खस्ने र खनिएको सडक समेत पहिरोले बगाएपछि सडक खुलाउने विषय नै अन्यौलमा परेको सूचना अधिकारी लम्सालले बताए । निरन्तर पानी परेका पानी रोकिएपछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने सडक डिभिजन पाल्पाले जनाएको छ ।

