सद्भाव र भातृत्वको पर्व अट्वारी

नेपालका आदिवासी जनजाति थारु समुदायको नेपालमा मात्र नभई विश्वकै जगतमा छुट्टै पहिचानरहदै आएका पाइन्छ । आफ्नै मौलिक भेषभुषा, रहन–सहन, रिटिरिवाज, भाषा, कला संस्कृति रहेको थारु समुदायको अरु समुदाय भन्दा अत्यन्त फरक रहेको देख्न सकिन्छ ।

परिश्रम र मेहनेतिका पारखिका रुपमा पनि चिनिने थारु समुदाय प्रकृतिसंग पनि अत्यन्त नजिक सम्वन्ध रहेको रहेको छ । नेपालमा बस्ने आमसमुदाय मध्ये थारु समुदायहरु समृद्ध संस्कृतिका रुपमा सवै भनदा धनी मानिन्छन । त्यसैले होला हरेक महिना कुनै पर्व, पूजापाठ संग जोडिदै आएकाछन् । अहिलेसम्म इतिहासलाई पल्टाउने हो भने बाह्रै महिना, ४८ हप्तामा कुनै न कुनै चाडपर्व मनाइरहेकाछन् ।

हालैमात्र गुरै र अष्टिमकी मनाएका थारु समुदायह अहिले अट्वारी पर्व मनाउन गइरहेकाछन् । थारु समुदायको महान पर्व ‘माघि’ पछि दोस्रो पर्वको रुपमा ‘अट्वारी’लाई मनाउने गर्दछन् । यो पर्वलाई समुदायका मानिसहरुले धुमधामका साथ उल्लासमय वातावरणमा मनाउदै आइरहेकाछन् । ‘अट्वारी’ पर्व थारु समुदयले २ दिन सम्म मनाउदै आएकोआएकाछन् । वर्षको एक चोटी मनाउने ‘अट्वारी’ थारु समुदायले अरु पर्व भन्दा भिन्नै तरिकाले र निकै महत्वका साथ मनाउने गर्दछन् ।

थारु समुदायको ‘अष्टिमकी’ अर्थात कृष्ण अष्टमीको पछि दुइ आइतवार अर्थात कुशे औशीको पछिको पर्ने आइतवारको दिनमा थारु समुदायले प्राचिनकालदेखि ‘अट्वारी’ पर्व मनाउदै आएको थारु अगुवाहरु वताउनेगर्दछन । यो पर्वमा लुम्विनी प्रदेश र सूदुरपश्च्मि र कर्णाली प्रदेशका जिल्ला दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत विशेषगरि थारु समुदायले भव्यताका साथ उल्लासमय वातावरणमा मनाउदै आएकाछन् । ‘अट्वारी’ पर्वमा थारु समुदायका पुरुषले मात्र मनाउदै आएको पाइन्छ ।

खासगरि यो पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासंग जोडिएको पाइन्छ । प्राचिनकालमा दाङका थारु दंगीशरण राजा र पाँच पाण्डव मध्य भीमसंग सम्वन्धित रहेको छ । महाभारतका पाँच पाण्डवहरु र दाङका थारु राजा दंगिशरण वीच लामो समयदेखि घनिष्ट सम्वन्धरहेको थियो । यहि क्रममा पाँच पाण्डव र दौपदी सवैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका रहेछन । त्यहिक्रममा दाङका थारु राजा दंगिशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेका खवर पाउने वित्तिक्कै तावामा पकाउन राखेको रोटी छाडेर भिमले भोकै पेटमा पानि समेत नखाई थारु राजा दंगिसरणको पक्षमा लड्न गएछन र शत्रुहरुलाई हराए छन् । यसरी भोकै पेटमा पनि खेहि नखाएर थारु राजा दंगीशरणको पक्षमा लडेर विजय हासिल गरेको अवसरमा यो महान पर्व अट्वारी मनाउदै आएको पाइन्छ । जुन मान्यतालाई विश्वास गरि थारु समुदायले भिम जस्तै वलियो वन्नको लागि यो अट्वारी पर्व मनाउदै आएको थारु वुद्धिजीविहरुको भनाई रहेको छ । उक्त घट्ना पनि आइतवारको दिन परेकोले यसको नाम पनि अट्वारी राखिएका वुझिएको छ ।

अट्वारीको पहिलो दिन
अट्वारीको अघिल्लो रात अर्थात शनिवारको दिन २÷३ वजेतिर राती उठेर माछा मासु परिकारसंगै दर खाने चलन छ । आइतवारको दिन दिउसभरि व्रत वसेर साँझपख ५ वजे तिर नजिकै खोलामा नुहाई धुवाई गरेर घरको वैठक कोठामा लिपपोट गरि “गन्यारी” भन्ने काठवाट आगो निकालेर भान्सा गर्ने चलन रहेकोछ । त्यही “गन्यारी” वाट निस्केको आगोले सवै भन्दा पहिला एक साइड मात्र ठुलो “भ्याँवा” रोटी पकाउने चलन छ । जनु रोटीलाई “भेँवक” रोटी भन्ने गरिन्छ छ । त्यसपछि अरु विभिन्न थरीको चिल्लो रोटी पकाई सकेपछि आफ्नो दिदिवहिनीहरुको लागि आ–आफ्नो भागमा रहेका रोटी विभिन्न थरिका फलफुलवा आधा भाग निकाल्ने चलन । त्यसपछि पुन आ–आफ्नो भागवाट सवै रोटी तथा फलफुलवाट चिमोटेर थोरै थोरै भाग “भेँवक” अर्थात भिमको नाममा आगोमा हालेर पूजा गर्ने चलन छ । यसरि पुजा अर्चना गरिसकेपछि घरका सवै सदस्यहरुले घरको सवैभन्दा ठुला मान्छेवाट क्रमस सानोले रमाइले गर्दै खाने चलन रहेको छ । जुन दिदिवहिनिहरुको लागि निकालेको रोटी फलफूल थारु भाषामा “अग्रसान” अर्थात कोसेली भन्ने चलन छ । त्यहि अग्रसान ‘अट्वारी’ को भोलिपल्ट अर्थात दोस्रो दिन विहान पुन पुजापाठ गरि आफ्नो दिदिवहिनीहरुलाई दिन जाने चलन रहेको छ ।

अट्वारीको दोस्रो दिन
‘अट्वारी’को दोस्रो दिन अर्था फलारको दिन विहान सवैरै उठेर नजिकै खोलामा नुहाइ धुवाइ गरि घरको वैठक कोठामा पुन लिपपोट गरि ३ या ७ थरिका तरकारी, भात पकाई सकेपछि अट्वारीको पहिलो दिन झै भात, सवै तरकारीवाट आधा भाग निकाल्नु पर्दछ । जस्लाई थारुभाषामा “कहार्ने” भनिन्छ । यसरी सवैगरि सकेपछि भिमको नाममा सवै तरकारीवाट एक एक गास तरकारी र भात निकालेर आगोमा हालेर पुजा गर्ने चलन छ । यसरी पुजाअर्चना गरिसकेपछि क्रमस घरको मुल सदस्यवाट सवैजना रमाइलो गर्दै खाने चलन रहेको छ ।

अग्रासन (कोसेली) को प्रतिक्षामा दिदिबहिनी
यता थारु समुदायका विवाहित महिला दिदिवहिनीहरुले आफ्नो माइतवाट आफुलाई छुत्याएका भाग “अग्रासन” अर्थात कोसेलीको प्रतिक्षामा बसिरहेका हुन्छन् । जवसम्म त्यो कोसेली ‘अग्रसान’ माइतवाट आउदैन तवसम्म पर्खाइमा वसेका महिलादिदिवहिनीहरु घरमा केहि पनि नखाने गरेको पाइन्छ । माइतबाट जस्तो सुकै खानेकुरा किन नहोस त्यो दिन ल्याएको कोसेली अर्थात अग्रासन विवाहित माहिला दिदी वहिनीहरुको लागि धेरै मिठो मानि खाने गरेकाछन् । त्यसैले अघिपछि भन्दा अट्वारीमा थारु महिला दिदिवहिनीहरुले माइतवाट पठाएको अग्रासनको वढि आशा गरेको पाइन्छ ।

सकारात्मक पक्ष
थारु समुदायको बर्का अट्वारीमा एउटा सकारात्मक पक्ष पनि छ । अघिपछि आफनो दिदी बहिनीहरु र दाजुभाई तथा अन्य छरछिमेकिहरु संग भएको रिसिविलार्ई पनि ‘अट्वारी’ मा भने मिल्ने गरेकाहुन्छन । वर्षभरिको रिसलाई ‘अट्वारी’ को दिनबाट नुहाईधुवाई गरि मिल्ने गरेको पाइन्छ । त्यसैले ‘अट्वारी’ पर्वलाई एउटा सदभावको पर्वको रुपमा पनि लिइन्छ । यति मात्र नभएर थारु समुदायमा वर्षभरि आफ्नो दिदिवहिनी तथा दाइभाइसंग भेटघाट नहुने तर अट्वारीमा भने अवस्य भेटघाट गर्ने अवसर जुटाइदिएको हुन्छ ।

नकारात्मक पक्ष
‘अट्वारी’मा केहि नकारात्मक पक्ष पनि रहेकाछन् । जस्तै अट्वारीमा आफनो चेलिवेटीको लागि निकालिएको कोसेली (अग्रासन) केहि बासि हुने गरेकाछन् । त्यहि बासी खानेकुरा आफ्नो चेलीवेटीलाई दिइने चलन छ । त्यो बासी खानेकुराले पछि चेलीवेटीलाई असर गर्ने गरेकोले यो कुरामा ध्यान दिन जरुरी छ । त्यस्तै आफ्नो चेलीवेटीलाई कोसेली (अग्रासन) दिन गएको बेला दिदीवहिनीहरुले आफ्नो दाइभाइलाई बढीमात्रामा जाडरक्सी खान दिने र दाइभाई रक्सी खाइसकेपछि घर आउदा बाटोमा सुत्ने, लड्ने जस्ता नकारात्मक पक्षहरु प्नि छन् । यो कुरालाई पनि आफन्तहरुले सोच्नुपर्दछ । ‘अट्वारी’को नाममा जे पाए त्यहि पनि गर्नुहुदैन ।

निष्कर्षः
यस पर्वलाई खासगरि बर्षदिनसम्म भेटघाट हुन नसेको दाजुभाइ तथा दिदीवहिनीहरुको विचमा विशेष भेटघाट मात्र नभइ माया, ममता, सदभाव र भातृत्व जगाउने पर्वको रुपमा लिन सकिन्छ । किनकी त्यसदिन विशेषगरि दाजुभाइहरु दिनभरी ब्रत बसेर आफनो दिदीवहिनीलाई सम्झिने र अट्वारीको भोलिपल्ट नै विवाहित दिदीवहिनीहरुको घरमा दाइभाइहरु पुगेर घरको अग्रासन दिने तथा सुखदुःखका कुराहरु गर्ने गरिन्छ । तसर्थ यसपर्वलाई सद्भाग र भातृत्व जगाउने पर्वको रुपम लिन सकिन्छ ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस