दाङ मलेरिया र डेँगुको उच्च जोखिम, सबैभन्दा बढि जोखिम गंगटे

दाङ । जिल्ला मलेरिया तथा डेँगुको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका शहरी क्षेत्र मात्र नभइ विशेषगरी बबई गाउँपालिका १ गंगटे पनि उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कलम चन्दले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ६ जनामा मलेरिया देखिएको थियो ।
उनले भने,‘ तुलसीपुर, घोराही , लमही लगायतमा जोखिम बढि छ । तर, पश्चिम दाङको विकट क्षेत्र बबई गाउँपालिका १ गँगटे अझ बढि मलेरियाको जोखिममा पर्दछ । यसबाट बच्नको लागि सबै सचेत हुन जरुरी रहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने मलेरिया २ जना र डेँगुका ३० जना बिरामी तुलसीपुरमा गत आर्थिक वर्षमा फेला परेका थिए । उपमहानगरका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार गत आर्थिक वर्षमा तुलसीपुर ६ र १३ मा गरी दुई जना ब्यक्तिमा मलेरिया देखिएको थियो । मलेरिया देखिएका व्यक्ति बाहिर बसेर आएको पनि उनले बताए ।
उनले भने,‘ मलेरिया र डेँगु रोगको उच्च जोखिम तुलसीपुर पनि हो । अन्य ब्यक्तिलाई मलेरिया परीक्षण गर्दा देखिएको थिएन । तर, ४३० जनालाई डेँगु परीक्षण गर्दा ३० जनामा देखिएको थियो । जसले गर्दा पनि तुलसीपुर उच्च जोखिममा रहेको जनाउँछ । सबैले सावधानी अपनाउन आवश्यक छ ।’
डेँगु देखिएकाहरू मध्य केही अस्पतालमा भर्ना भएर अहिले निको भएको पनि उनको भनाइ थियो । उनका अनुसार बजार क्षेत्र भएका कारण र जताभावी गाडीहरू टायर, पानीका बोतलहरू फाल्दा त्यसमा पानी जमेर त्यसबाट डेँगु फैलिरहेको छ । उनले भने,‘ डेँगु रोग बनाउने लामखुट्टेले दिउँसोको समयमा टोक्ने गर्दछ । फोहोर पानी जमेका ठाउँमा ति लामखुट्टेहरू बस्ने गर्दछन् । यसले टोकेमा ज्वरो आउँने, शरीर दुख्ने, टाउको दुख्न जस्ता लक्षणहरू देखिने गर्दछ ।’
सरसफाइमा ध्यान दिए यि रोगबाट बच्न सकिन्छ
विगतका वर्षहरूमा तुलसीपुर उपमहानगरले डेँगु रोगबाट बच्नको लागि औषधिहरू छर्केने गरेको भएयता पनि त्यसले वातावरणमा असर गर्ने भएकाले घर वरपर पानी जमेका ठाउँहरू सफा राख्नु पर्ने उनको भनाइ थियो । यस्तै उनले अफिस वा घरमा भएका कुलर एसीमा पनि प्रत्येक हप्ता मट्टितेल वा पेट्रोल प्रयोग गरेर सफा गर्न पनि आग्रह गरे । ति बस्तुहरूमा पानी जमेको हुँदा लामखुट्टे त्यहाँ बस्ने र त्यसले अण्डाहरू बनाएर राखेको हुँदा सफा गरेर नष्ट गर्न समेत सुझाव दिए ।
यो रोग लागेमा ज्यान जान सक्छ
जनस्वास्थ्य निरीक्षक केसीले मलेरिया, डेँगु जस्ता रोगले मानिसको ज्यान जान सक्ने पनि बताए । उनले मलेरिया रोगका कारण दिमागमा असर गरेर ब्यक्तिलाई पागल बनाउने र मृत्यु हुनसक्ने पनि बताए । यस्तै डेँगु रोग लागेमा रगत बच्ने, शरीरका नशालाई कमजोर बनाउने, रगतको कमी हुने, निमोनिया हुने जस्ता कारण ज्यान जान सक्ने पनि बताए ।
यस्तो रोगबाट बच्नको लागि सरसफाइमा ध्यान दिनु पर्ने समेत बताए । यस्तै कुनैलाई सामान्य लक्षण देखिएमा शरिरको प्रतिरक्षा शक्तिलाई कमजोर बनाएर निको हुने सक्ने पनि उनले बताए । उनले खतरा प्रकारको डेँगु लागेमा ब्यक्तिहरुलाई धेरै दिनसम्म ज्वरो आउने आइसियुमा भर्ना गर्नु पर्ने अवस्था पनि आउन सक्ने बताए ।
तुलसीपुरमा पनि एक÷दुई जनामा त्यस्तो समस्या देखिएको र उनीहरु अहिले निको भएर घर गएको उनले बताए । नेपालबाट सन् २०२५ सम्म यस्ता किसिमका सरूवा रोग उन्मुलन गर्ने लक्ष्यअनुरूप तुलसीपुरमा मलेरिया, डेंगु, कालाजार, स्क्रबटाइफस जस्ता रोगबाट बच्न आवश्यक सचेतना र रोग निवारणका लागि समय–समयमा नमुना परिक्षण गरिरहेको उनले बताए । डेंगु तथा मलेरिया लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्काे ब्यक्तिमा सर्ने गरेको उनको भनाइ छ ।
डेंगु रोग चार प्रकारका रहेका छन् । जसअन्तर्गत डेन वान अर्थात् सुरूवाती चरण रहेको र क्रमशः डेन टु, थ्री हुँदै फोरसम्म पुग्दा मानिसको मृत्युसम्म हुन सक्ने भएकाले सजग हुन डाक्टरले सुझाव दिएका हुन् । सन् २००४ मा डेंगु तथा मलेरिया रोग नेपालमा भित्रिएको हो । मलेरिया तराई तथा मधेसका जिल्लामा हुने भएपनि पछिल्लो समय संक्रमितको सम्पर्कमा आउँदा हिमाली जिल्लाका मानिसमा समेत देखिएको डाक्टरको भनाइ छ ।