महशुल नबुझाउने ४२ ग्राहक कालो सूचीमा, १५ सय ग्राहकको लाइन काटियो

दाङ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरमा एक वर्षमा ४२ ग्राहक कालो सूचीमा परेका छन् । कार्यालयले ६ महिनासम्म पनि विद्युत महशुल नबुझाउने ग्राहकहरूलाई कालो सूचीमा राख्ने गरेको छ । समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटेको ६ महिनासम्म पनि महशुल नबुझाए पछि उक्त ग्राहकलाई कालो सुचीमा नियमानुसार राखिएको कार्यालयले जनाएको छ । गत असार मसान्तसम्म ४२ ग्राहक जना कालो सूचीमा परेका छन् । ति मध्ये ५ जना ग्राहकले किस्तामा महशुल बुझाई रहेको केन्द्रका प्रमुख ज्ञान प्रसाद फर्सालले बताए ।

यस्तै ६ महिनासम्म महशुल बुझाउँने व्यापारी पनि रहेको उनको भनाइ छ । उनका अनुसार केन्द्रले एक वर्षमा करिब १५ सय ग्राहकको लाइन काटेको छ । समयमै विद्युत महशुल नबुझाउने करिब १५ सय ग्राहकको लाइन काटेको उनले बताए । उनले भने,‘ मिटर रिडिङ गरेको ६० दिनभित्र विद्युतको महशुल बुझाउनु पर्ने हुन्छ । तर, नबुझाएको खण्डमा हामीले जुनसुकै समयमा लाइन काटी दिन्छौँ । लाइन काटेका मध्ये प्रायले बक्यौता रकम बुझाउने गर्दछन्, र पुनः लाइन जोडिदिन्छौँ । कति ग्राहकहरूले किस्तामा बक्यौता महशुल बुझाउँदै आएका छन् ।’

गत आर्थिक वर्ष २०७८/७९ मा समयमै विद्युत महशुल नबुझाउने १५ सय ग्राहको लाइन काटिँदा एक करोड ८९ लाख बक्यौता रकम उठेको पनि उनले बताए । उनका अनुसार एक हजार भन्दा बढि रुपैयाँ बुझाउँन बाँकी रहेको ग्राहकको लाइन काटिन्छ । यस्तै अझै पनि ३२ सय ग्राहको लाइन काट्न बाँकी रहेको उनको भनाइ छ । उनले असार मसान्तसम्म ३ करोड ४५ लाख रकम उठ्न बाँकी रहेको पनि बताए । साउन १ गतेदेखि बाँकी बक्यौता उठाउँन सुरु भइसकेको उनको भनाइ छ ।

२०७८ साउन देखि २०७९ को असार मसान्तसम्म ३ करोड ५८ लाख युनिट विद्युत बिक्री गरिएको तथ्याङ्क छ । जसबाट ३२ करोड २० लाख रमक रहेको छ । बिक्री युनिट र बाँकी बक्यौता गरि एक वर्षको अवधिमा ३४ करोड ३२ लाख रकम उठेको उनले बताए । उनले विद्युतको नियममा ६० दिन पुगेमा बिना सूचना विद्युत लाइन भएकाले समय मै महसुल बुझाउनको लागि माइकिङ गर्ने योजना रहेको पनि बताए । उनले चालु आर्थिक वर्षमा उठ्नु पर्ने रकम ८० प्रतिशत उठाउँने कार्यालयको लक्ष्य रहेको पनि बताए । तुलसीपुर वितरण केन्द्रमा ४७ हजार ५०० सय ग्राहकहरू रहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस