प्रतिष्ठानमा प्रभावकारी बन्दै निःशुल्क डाइलासिस सेवा, मेसिन थप्ने तयारी

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क डाइलासिस सेवा सञ्चालनमा आएको छ । यसअघिको प्रतिष्ठानको नेतृत्वको डाइलासिस सेवा आउट सोर्सिङबाट चलाएकोमा खासै सेवा प्रभावकारी हुन नसकेको जन गुनासो आएपछि प्रतिष्ठानको वर्तमान नेतृत्व उपकुलपति डा. विकास लामिछानेले गुनासोलाई सम्बोधन गर्दै कम्पनीलाई हटाउँदै प्रतिष्ठानले सबै आफै हेर्ने गरि डाइलासिस सेवा प्रत्यक्ष जिम्मेवारी लिएको हो ।
किड्नीका बिरामीलाई निःशुल्क डाइलासिस सेवा प्रतिष्ठानले दिएपछि बिरामीहरू खुसी भएका छन । अहिले प्रतिष्ठानमा ६ वटा डाइलासिस मेसिन सञ्चालनमा आएको छ । प्रतिष्ठानकी डाइलासिस इन्चार्ज झरना पुलामी भण्डारीका अनुसार ती मेसिनबाट २४ जनाले डाइलासिस सेवा पाइरहेका छन ।
उनले एक सिफ्टमा ४ देखि ५ जनाले डाइलासिस सेवा पाउने जानकारी दिइन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफै निःशुल्क डाइलासिस सेवा सञ्चालनमा ल्याएपछि सेवा अत्यन्तै प्रभावकारी भएको र केही मेसिन थप्ने पहल भइरहेको उपकुलपति लामिछानेले बताए । केही दिन अघि प्रतिष्ठानको अवलोकनमा आएका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई मेसिन थपीदिनका लागि पहल गरिदिन उपकुलपति लामिछाने र रजिस्ट्रार प्रकाश थापाले आग्रह गरेका थिए ।
राज्यमन्त्री केसीले प्रतिष्ठानलाई बजेटको चिन्ता नलिन र ४ सय बेडको अत्याधुनिक भवनसहित मेडिकल कलेज बन्ने भनिएको जग्गामा पूर्वाधार बनाउने बजेट आउने विश्वास दिलाए । उनले आफ्नो कार्यकालमा दाङको स्वास्थ्य क्षेत्रको विकासका मरिमेट्ने भन्दै पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गरेर देखाइदिने बताए ।
रजिस्ट्रार थापाले राज्यमन्त्री केसीकै पहलमा प्रतिष्ठानमा ७ वटा डाइलासिस मेसिन थपिन लागेको जानकारी दिए । उनले मेसिन थपिए प्रतिष्ठानले २४ सै घण्टा नि : शुल्क रुपमा डाइलासिस सेवा दिने बताए ।