दाङमा १० प्रतिशत रोपाई सकियो, किसानलाई मलकै सास्ती

दाङ । दाङमा असारको मध्यसम्म १० प्रतिशत मात्रै रोपाई सकिएको छ । समयमै पानी नपरेकाले र मल अभाव भएकाले यस वर्ष अहिलेसम्म १० प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । भोली असार १५ गते दाङसहित देशैभर विविध कार्यक्रम गरेर राष्ट्रिय धान दिवस मनाईदै छ । धान रोप्ने र दहि चिउरा खाने दिनका रुपमा मनाईने धान दिवस मुखैमा आउँदा पनि किसानले अहिलेसम्म धानको ब्याडसम्म राख्न सकेका छैनन् ।

वि.सं २०६१ असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस औपचारिक रूपमा मनाउन थालिएको हो । तर सदियौँदेखि असारको १५ लाई दही चिउरा खाने, धान रोप्ने अनि रोपाईलाई उल्लासका साथ सामूहिक रूपमा मनाउने चलन थियो । यस वर्ष १९औँ धान दिवस धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ मनाईदै छ । तर नारामा भनिए जस्तो आयातमा प्रतिस्थापन गर्ने अवस्था भने न्यून देखिएको छ । समयमै पानी नपर्दा र प्रयाप्त मल नपाउँदा उत्पादन घट्ने कुराले किसान चिन्तीत छन् । गतवर्षको तुलनामा यसवर्ष धेरै पानी पर्ने मौसम पुर्वानुमान भएकाले धान उत्पादनमा बृद्धि हुन सक्ने आशा गर्न सकिने केन्द्र बताउँछ ।

यसवर्ष ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जसमध्ये अहिलेसम्म ३९ सय ४० हेक्टरमा मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले साझा टाइम्सलाई जानकारी दिए । उनका अनुसार बबई नदि किनारमा थोरै मात्र रोपाई भएपनि देउखुरी बाहेकका क्षेत्रमा रोपाई हुन सकेको छैन् । कुल क्षेत्रफलमध्ये रोपाई सकिएको १० प्रतिशत ३९ सय ४० हेक्टर सबै देउखुरी क्षेत्रको तथ्याङ्क भएको उनले बताए ।

नेपालको कुल धान खेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउँछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धान खेतको प्रतिकुल नै भने हुने गरेको छैन् । यता दाङमा खेती हुने जमिन मध्ये ३० प्रतिशत क्षेत्रमा बाह्रै महिना प्रयाप्त सिंचाई हुने भएपनि अधिकांश क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । अर्काेतिर अहिले दाङमा थोरै मल आएका कारण किसानले आवश्यक पर्ने जति मल सहुलियतमा पाउन सकेका छैैन् । किसानलाई खेती गर्दा आवश्यक पर्ने मलको आधामा पनि पाउन नसक्दा उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका छन् ।

साल्ट ट्रेडिङका म्यानेजर रामबाबु गुप्ताले अहिले डिएपी मल आएको र सहकारीहरुलाई वितरण गर्ने काम भैरहेको जानकारी दिए । उनका अनुसार सहकारी मार्फत मल किसानलाई वितरण गर्ने काम भैरहेको छ । किसानले चाहेअनुसार प्राप्त मन पाउन नसक्नु दुखद् विषय भएको बताए ।

घोराही ७ चौतारी सहकारी समूहका जगमणी चौधरीले दुई दिनदेखि लाईनमा बस्दा पनि मल नपाएको दुखेसो गरिन् । सहकारीका प्रतिनिधि मल माग्नका लागि साल्ट ट्रेनिङमा नअउँदा किसानलाई समस्या भएको उनीको भनाई थियो । सहकारीमा जोडिएका किसानहरु मल लिनका लागि आएपनि कति सहकारीका प्रतिनिधि नआईदिदा किसानले सास्ती भोगि रहेका छन् ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस