ईसाई समुदाय दाङद्वारा १० वटै पालिकामा कमिटी विस्तार

दाङ । ईसाई समुदाय दाङले जिल्लाका १० वटै पालिकामा आफ्नो कमिटी विस्तार गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा सोमबार एक औपचारिक कार्यक्रम गरी ईसाई समुदाय दाङले नगर कमिटी गठन गरेसँगै १० वटै पालिकाले पुर्णता पाएको हो ।

वरिष्ठ पाष्टर शालिकराम शाहुको अध्यक्षता तथा जिल्ला अध्यक्ष सन्तबहादुर घर्तीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी विक्रम चौधरीको अध्यक्षतामा ११ सदस्यीय तुलसीपुर नगर कमिटी गठन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले सुशासन, सद्भाव र एकता कायम राख्दै स्थानीय तह तथा सरोकार वाला निकायहरुसँग सहकार्य गर्दै समुदायका क्रियाकलापलाई अघि बढाउने बताए । साथै उनले ख्रिष्टियनहरुको हकहित र संरक्षणका लागि काम गर्ने आधिकारिक संस्था ईसाई समुदाय भएको बताए ।

यस्तै समुदायले यसअघि भुपबहादुर घर्तीको अध्यक्षतामा घोराही नगर कमिटी गठन गरिसकेको छ भने सोमबार तुलसीपुर नगर कमिटी गठन गरिएको हो । यस्तै लमही नगरको अध्यक्षमा यहोसु बुढा, शान्तिनगरको अध्यक्षमा झुपलाल विक, गढवाको अध्यक्षमा चुन्नु चौधरी, बबईको अध्यक्षमा गणेश विक, राजपुरको अध्यक्षमा शक्ति जिएम, राप्तीको अध्यक्षमा राजन रायमाझी, बंगलाचुलीको अध्यक्षमा श्याम घर्ती र दंगीशरणको अध्यक्षमा अनिल रसाईलीलाई चयन गरिएको समुदायका सचिव सुभाष नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस