सिमेन्ट उद्योगले जबर्जस्ती टिप्पर चलाउन खोजेपछि स्थानीयको बिरोध

घोराही । सोनापुर सिमेन्ट उद्योगले जबजस्ती टिप्पर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले बिरोध गरेका छन् । यसअघि पटक–पटकको आन्दोलनपछि टिप्पर सञ्चालन बन्द भए पनि सोनापुर सिमेन्टले बंगलाचुली १ मा सञ्चालन गर्न थालेको नयाँ खानीमा जबर्जस्ती टिप्पर चलाउन खोजेको भन्दै स्थानीयबासीले बिरोध गरेका हुन् ।
स्थानीयबासीसँग कुनै सल्लाह नगरी जबर्जस्ती ३१ वटा टिप्पर पठाएपछि स्थानीयबासी स्वस्फूर्तरुपमा आन्दोलित भएको स्थानीयबासीले बताएका छन् । वडा नं. १ र २ का नागरिक बिरोधमा उत्रिएपछि घोराहीबाट प्रहरीसमेत पठाइएको थियो ।
स्थानीयबासीको बिरोधपछि सर्वपक्षीय छलफल गरेर मात्रै टिप्पर चलाउने गरी तत्कालका लागि टिप्पर सञ्चालनमा रोक लगाइएको बंगलाचुली १ का अध्यक्ष विष्णु कँवरले जानकारी दिए । जबर्जस्ती टिप्पर सञ्चालन गर्न थालेको भन्दै पूरै गाउँबासी आन्दोलनमा उत्रेर सडकमै सुतेका थिए ।