दाङमा ३२ सय मेट्रिक टन मलको माग

दाङ । दाङमा बर्खे सिजनका लागि ३२ सय मेट्रिक टन मलको आवश्यकता देखिएको छ । बर्खे खेतीका लागि किसानले ३ हजार २ सय मेट्रिक टन रासायनिक मल माग गरेका हुन् । दाङमा ३९ हजार ९ सय ५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

किसानको मागअनुसार जिल्लामा बर्खे सिजनका लागि युरिया दुई हजार मेट्रिक टन अर्थात् ४० हजार बोरा र डिएपी १२ सय मेट्रिक टन अर्थात २४ हजार बोरा मलको आवश्यकता रहेको कृषि सामग्री केन्द्र घोराही शाखाका प्रमुख टोपाराम गौतमले जानकारी दिएका छन् । उनले जिल्लामा किसानको मागको आधारमा आवश्यक मलको बारेमा केन्द्रलाई जानकारी गराएको बताए । ‘किसानको मागको आधारमा जिल्लामा ३२ सय मेट्रिक टन रासायनिक मलको आवश्यकता देखिएको छ’, शाखा प्रमुख गौतमले भने, ‘त्यहीअनुसार जिल्लामा मलको माग गरेर केन्द्रमा जानकारी गराएका छौँ ।’

कृषि सामग्री केन्द्र घोराही शाखाकाअनुसार हालसम्म बर्खे खेतीका लागि भनेर युरिया १४ सय अर्थात ७६ दशमलव ५५० मेट्रिक टन, डिएपी ७ सय ८५ मेट्रिक टन र पोटास ५१ दशमलव २५० मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ । यसैगरी तुलसीपुर शाखाबाट युरिया १६ सय ४ दशमलव १० मेट्रिक टन, डिएपी ७ सय ३४ दशमलव ३० मेट्रिक टन र पोटास ४२ मेट्रिकटन मल र लमही शाखाबाट युरिया ६ सय अर्थात ८६ दशमलव ८० मेट्रिकटन, डिएपी २ सय अर्थात ६६ दशमलव ६ मेट्रिक टन र पोटास २० दशमलव ४५ मेट्रिक टन वितरण गरिएको छ ।

कृषि सामग्री केन्द्र घोराहीकाअनुसार जिल्लामा माघ महिनादेखि यता ४ सय ९६ मेट्रिकटन युरिया मल मात्रै आएको बताए । किसानले बर्खे खेतीमा प्रयोग गर्नका लागि रासायनिक मल यो सिजनमा आउनुपर्ने भए पनि भारतबाटै मल नआउँदा दाङसहित देशभर नै मलको समस्या देखिएको शाखा प्रमुख गौतमले बताए । उनकाअनुसार रासायनिक मलको समस्या हटाउनका लागि सरकारले नै पहल गरिरहेकाले असारको महिनाभित्र मल आउन सक्ने बताए । ‘बर्खे सिजनमा खेतीका लागि आवश्यक पर्ने मल ल्याउन सरकारले नै पहल गरिरहेको छ’, उनले भने, ‘त्यसैले असार मसान्तभित्रै मल आउँछ ।’

उनले बर्खे सिजन सुरु भइसक्दा समेत किसानले मल नपाएपछि धेरै किसान कार्यालयमै मलका लागि आउने गरेको बताए । ‘स्टिमले यहाँबाट सहकारी संस्थाले मल लग्ने र गाउँमा किसानलाई वितरण गर्ने हो’, शाखा प्रमुख गौतमले भने, ‘तर यस वर्ष माथिबाटै मल नआएर सहकारी संस्थाले गाउँमा मल लग्न नपाएपछि धेरै किसान आफै मल सोध्दै कार्यालयसम्म आउने गर्नुुहुन्छ ।’ उनले आजभोलि कार्यालय आउने किसानको संख्या ५० जना बढीको संख्या किसानहरू मल सोध्नका लागि कार्यालयसम्म आउने गरेको उनी बताउँछन् ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस