दाङबाट हालसम्म ७ हजार बढीलाई स्वास्थ्य बिमामार्फत उपचार सेवा

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट हालसम्म ७ हजार बढीले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिन सफल भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको उपस्थितिमा आज बुधबार प्रतिष्ठानमा आयोजित स्वास्थ्य बिमा समिक्षा गोष्ठीमा २०७८ साउन ३ गतेदेखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिएको जानकारी गराईएको छ ।
प्रतिष्ठानमा कार्यरत स्वास्थ्य बिमा अभिलेख शाखाकी दुर्गा श्रेष्ठले २०७४ मंसिर १ गतेबाट सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत रोल्पाबाट रिफर भई आएकालाई सेवा दिँदै प्रकृया अघि बढाए पनि दाङमा २०७७ माघ ३० गतेदेखि पूर्ण रुपमा लागू भएयता २०७७ फागुन १ गतेबाट प्रतिष्ठानले स्वास्थ्य विमा कार्यक्रम सेवा शुरु गरेको बताए । प्रणालीमा सेवा दिने काम भने २०७८ मंसिरबाट भएको उनको भनाई थियो ।
उनका अनुसार २०७७ को फागुनमा ४० जना, चैतमा ५० जना, बैशाखमा ९० जना, जेठमा १०० जना र असारमा ९५ जनाले स्वास्थ्य बिमामार्फत प्रतिष्ठानबाट सेवा लिन सफल भएका छन् । यस्तै, २०७८ को साउनमा १३० जना, भदौमा २२० जना, असोजमा ३ सय १६ जना, कार्तिकमा ३ सय ५५ जना, मंसिरमा ४ सय ८६ जना, पुसमा ५ सय ५४ जना, माघमा ४८८ जना, फागुनमा १ हजार ३९ जना र चैत्रमा १०५१ जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका छन् ।
यस्तै २०७९ बैशाखमा ७ सय ५८ तथा जेठ मसान्तसम्ममा १ हालसम्मकै सबैभन्दा धेरै १ हजार ३ सय ५० जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका उनले जानकारी दिए । २०७८ साउन ३ देखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाको स्वास्थ्य बिमामार्फत प्रतिष्ठानले दिएको स्वास्थ्य उपचारवापतको रकम भुक्तानीमा भने बिमा कम्पनीले ढिलाई गरेको छ ।
बिमा कम्पनीले हालसम्म करिब २८ लाख भुक्तानी गरेपनि १ करोड ३० लाख २९ हजार ७१ रुपैयाँ विमितको स्वास्थ्य विमावापत प्रतिष्ठानलाई बुझाउनु पर्ने भुक्तानी रकम निकाशा हुन नसकेको जानकारी गराइएको छ । स्वास्थ्य बिमाप्रति आम नागरिकको चासो बिस्तारै बढ्दै गएपनि यसबाट लिने सेवाका बारेमा अझै सेवाग्राही सचेत हुन नसक्दा व्यहारिक कठिनाई रहेको पाइएको छ । उपचारका लागि प्रतिष्ठान पुग्ने बिरामीले स्वास्थ्य बिमाको बारेमा स्पष्ट रुपमा नबुझि दिँदा अनेकन समस्या हुने गरेको प्रतिष्ठानले जनाएको छ ।
बिमा समिक्षा गोष्ठीमा श्रेष्ठले भने, ‘बिमा वापतको रकम दावी गर्न धेरै समस्या छ, यसबारे बिमित नै जानकार छैनन् । बिल प्रिन्ट प्राप्त हुँदैन, डाक्टरले पनि के को उपचार गरिएको हो, प्रष्ट नलेखि दिनु, कागजात जुटाउन असहज हुनु समस्या रहेका छन् ।’ यस्तै, सोही शाखामा कार्यरत कम्प्युटर असिस्टेन्ट यज्ञबहादुर पुनले पनि काममा दबाब बढ्दो क्रममा रहेकाले सेवाग्राहीले सहज सेवा पाउन कठिन भएको बताए ।
आगामी दिनमा सेवा सुलभ गराउन सबै निकायबाट भूमिका खेल्न आग्रह गर्दै नेपाल सरकारले दिने सेवामा सहज बनाउन सके सेवाग्राहीलाई सेवा पाउन कठिन नहुने अनुभव सुनाए । यस्तै, बिमा बनाउने एजेन्टले बिमितलाई सहि सूचना र सचेतना दिनु जरुरी रहेको आवश्यकता औँल्याएका थिए ।
स्वास्थ्य बिमाप्रति आम नागरिकको चासो बिस्तारै बढ्दै गएपनि सोँचे जति काम हुन नसकेकाले यसबारे सचेतना बढाउन निकै आवश्यक रहेको प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले बताए । प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन आगामी दिनमा यसको दायरा अझ बढाउँदै लैजान सरोकार निकायसँग पनि परामर्श गर्ने जानकारी गराए ।
समिक्षा गोष्ठीमा शिक्षाअध्यक्ष डा. वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, मेडिकल निर्देशक रमेश कँडेललगायत विभिन्न वार्डमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।