दाङमा रासायनिक मल अभाव

दाङ । दाङमा रासायनिक मलको अभाव असारको पहिलो सातापछि समाधान हुने कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ । विश्व बजारमा मलको अभाव भएकाले नेपालमा पनि यसको असर परेको कम्पनीका घोराही शाखा प्रबन्धक टोपाराम गौतमले जानकारी दिए ।
उनका अनुसार जिल्लामा यसवर्ष जम्मा ४० प्रतिशत मात्रै रासायनिक मल वितरण गरिएको छ । खेतीपातीको सिजन शुरु भएपनि केन्द्रबाटै मल नआउँदा जिल्लामा कृषकलाई मल वितरण गर्न कठिन भएको घोराही शाखाले जनाएको छ । उनले भने, ‘यो सिजन सम्ममा खपत ७५ हुनुपर्ने हो तर मल आपूर्ति छैन त्यसैले बिक्री सोँचे जति बिक्री हुन सकेको छैन । सरकारले खासगरी मुख्य तीन बाली धान, मकै, गहुँलाई मात्रै आधार बनाएर रासायनिक मल आपूर्ति गर्ने हुँदा पनि सँधै मल अभाव हुने गरेको छ । अहिले व्यावसायिक रुपमा बाली उत्पादनसँगै अन्य कृषिजन्य बस्तु उत्पादनमा मलको ठूलो हिस्सा प्रयोग भई रहेकाले आपूर्ति र उपभोगमा असन्तुलन बढेको छ ।
सरकारले वर्षेनी करिब ५० अर्बको रासायनिक मल खरिद गर्दै आएको छ । खरिद अनुसार यसको उपयोग र प्रतिफलबीच पनि ठूलो असन्तुलन देखिएको छ । खेती गर्न घोराही क्षेत्रका लागि एक हजार दुई सय मेट्रिक टन युरिया र आठ सय मेट्रिक टन डिएपी आवश्यक पर्छ । तर आवश्यकता पूरा गर्ने मल कृषि सामग्री कम्पनीसँग नभएको कम्पनीका घोराही शाखा प्रमुख गौतमले जानकारी दिए । अहिले गोदाममा मल नभएपनि यस अघि कृषकले प्रसस्त मात्रामा खरिद गरेर लगेको मल ढुक्कका साथ प्रयोग गर्न आग्रह गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रबन्धक गौतमले असार पहिलो हप्ता मल आउने हुँदा भोलिका दिनमा मल अभाव नहुने विश्वास दिलाए ।
उनले भने, ‘गएको हिउँदमा दाङमा धेरै कृषकले रासायनिक मल खरिद गरेर राखेका छन् । यसको सही उपयोग गर्नुभए हुन्छ, मल आउन लागेकाले तोरी र गहुँका लागि अभाव हुँदैन, वर्षे खेतीका लागि मल ढुक्कका साथ प्रयोग गर्नुस् । खेतीपातीका लागि खरिद गरी मल लगेका किसानले सही उपयोग गरेमा मल अभाव धेरै हदसम्म कम हुने कार्यालयको भनाई छ । जिल्लामा हरेक वर्ष १५ सय टन डिएपी, २५ सय टन युरिया र सय टज पोटासको माग रहेको शाखा प्रबन्धक गौतमले बताए । तर, आवश्यकता अनुसार मल आपूर्ति नहुँदा कृषकलाई समस्या भोग्नु पर्ने अवस्था रहेको छ ।

यसैबीच, अभावका कारण मलको मूल्य बढ्ने चर्चा चलेपनि कृषकले साविक कै मूल्यमा मल खरी गर्न पाउने शाखा प्रबन्धक गौतमले बताए । सरकारले खरिद गर्ने मलको मूल्य बढेको छ तर बिक्री मूल्य बढेको छैन, दायित्व सरकारले व्यहोरेको छ,’ गौतमले भने ? घोराहीमा आउने रासायनिक मल रोल्पा, रुकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यान सम्म वितरण गरिँदै आइएको छ । जिल्लामा खेतीयोग्य कूल २९ लाख पाँच हजार ५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टर रहे पनि ६५ हजार ९८० हेक्टर जमिनमा मात्र खेती हुने गरेको छ ।
जसका लागि कृषकहरुले रासायनिक मलको प्रयोग गर्दै आएको छ । रुस र युक्रेन बीचको युद्धका कारण रासायनिक मल आयातमा रोक लागेपछि मल अभाव भएको सरकारको भनाई छ । जसका कारण नेपाल सरकारकाले हाललाई भारत सरकारसँग जीटूजी मार्फत मल खरिद प्रकृया अघि बढाएको जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड लमही शाखामा पनि डिएपी मल मात्रै रहेको शाखा प्रमुख घनश्याम कहारले बताए । लमही क्षेत्रका लागि एक हजार मेट्रिक टन युरिया र सात सय मेट्रिक टन डिएपी आवश्यक पर्छ तर संस्थामा मल छैन । ‘खेतीपातीको समय सुरु भईसक्द्या पनि मल नआउँदा कृषकले दैनिक मल आयो रु भनेर सोधेर हैरान बनाई सके,’ उनले भने ।
जिल्लाका तीन स्थानबाट अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत वितरण गर्ने गरिएको छ । घोराहीमा आउने रासायनिक मल रोल्पा, रुकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गर्नुपर्ने जिम्मेवारी रहेको प्रमुख गौतमको भनाई छ । तुलसीपुर क्षेत्रमा दुई महिनाका लागि एक हजार ६०० मेट्रिक टन युरिया र एक हजार टन डिएपी आवश्यक पर्ने भए पनि अहिले मल नभएको उक्त लिमिटेडका तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए ।