८ हजार ४ सय ४४ घरमा टिनको छानो
दाङ । विगत २ वर्षको अवधिमा ४ जिल्लामा गरेर ८ हजार ४ सय ४४ वटा घरमा टिनको छानो लगाइएको छ । दाङ, प्यूठान, रोल्पा र रुकुम–पूर्वमा आर्थिक वर्ष २०७७÷०७८ सम्ममा यो संख्यामा टिनको छानो लगाइएको हो ।
संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउन थालेको सघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ । यस प्रकारको कार्यक्रम दाङ र प्यूठानमा आर्थिक वर्ष २०७७÷०७८ बाट सुरु भएको हो । रोल्पा र रुकुमपूर्वमा आर्थिक वर्ष २०७६÷०७७ बाट सुरु भएको हो ।
यस कार्यक्रमले सबै जातिका नागरिकलाई समेटिएको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका आयोजना प्रमुख खड्गबहादुर चौधरीले बताए । प्रतिघर ५० हजारका दरले रकम प्रदान गरिने प्रमुख चौधरीको भनाई छ ।
यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दाङमा ३ हजार ९ सय ३५ वटा घरमा टिनको छानो लगाइएको छ भने १ सय ७ वटा छनोट हुन बाँकी रहेका छन् । प्यूठानमा १ हजार ७ सय २ घरमा टिनको छानो लगाइएको छ भने ४ वटा छनोट गर्न बाँकी रहेका छन् ।
यसैगरि रुकुम पूर्व जिल्लामा ७ सय ८१ घरमा टिनको छानो लगाइएको छ भने ३८ वटा सम्झौता हुन सकेको थिएन् । रोल्पामा २ हजार २६ घरमा टिनको छानो लगाइएको छ ।