समतामुलक समाज निर्माणमा एक जुट हुनुपर्नेमा जोड

दाङ । ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मुलन दिवसको सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ दाङले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले दाङको घोराहीमा सञ्चार, न्याय, सामाजिक तथा आर्थिक विकासमा दलित समुदायको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले पाएको उपलब्धिलाई संस्थागत गर्न थप योजना बनाउन जरुरी रहेको बताए । वर्गीय समस्याले समाजमा विद्यमान विभेद चिर्न समतामुलक समाजको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए । हरेक क्षेत्रमा सदियौदेखि बञ्चीत गरेर दलितको कोटा हटाउनुपर्ने विषय सान्दर्भिक नहुने नेपालीको जोड थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले अव दलित समुदाय जातभन्दा माथि उठ्नुपर्ने बताए । त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले विभेद्जन्य काम बिस्तारै हट्दै गएको भन्दै जातीय भन्दा पनि वर्गीय विभेद बढ्न थालेको बताए । ५ प्रतिशत मानिससँग ९५ प्रतिशत मानिस बराबर सम्पत्ति भएको भन्दै अहिले वर्गीय विभेद् बढेको बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले अब सोच बदल्नु पर्ने भन्दै आरक्षणमा निम्न आए भएका दलितलाई प्राथमिकता दिनुपर्ने तर्क दिइन् । कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त लुम्बिनी प्रदेश प्रमुख पवन योगी, कानुन व्यवसायी गोपाल नेपाली, भुमि अधिकार मञ्च दाङका अध्यक्ष देउमन दमाई, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन लगायतले दलित र गैर दलित बिचको विभेद् अन्त्य गर्न शिक्षा र चेतनाको विकासमा सबैले नेतृत्वदायी भुमिका खेल्न आवश्यक रहेको बताए ।

उनीहरुले दलित अगुवाहरु एकै ठाउँ नभएर राजनीतिक दलका छुट्टै संगठनमा आवद्ध हँुदा पनि आन्दोलन निष्कर्शमा पुग्न नसकेको बताएका थिए । वरिष्ठ उपाध्यक्ष गिरीराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस