सुकुम्बासीलाई जग्गा दिन १५९ स्थानीय तहमा दरखास्त आह्वान

दाङ । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नयाँ सूचना जारी गरेको छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि सूचना जारी गरेको हो ।

सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्न अनुरोध गरिएको छ । यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ ।

सूचनाअनुसार दाङसहित ४१ जिल्लाका १५९ स्थानीय तहमा दरखास्त आह्वान गरिएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८ को दफा ३ को अनुसूची १ बमोजिमको कार्य सहमतिपत्रमा हस्ताक्षर गरी कार्य प्रारम्भ गर्न चाहने स्थानीय तहलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस