तुलसीपुर दुई दिनमा १५ हजार बढि विद्यार्थीलाई मोडर्ना खोप प्रदान
दाङ । तुलसीपुरमा सोमबार ९ हजार बढि विद्यार्थीलाई मोडर्ना खोप प्रदान गरिएको छ । उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार ९ हजार ५२ जनालाई कोरोना खोप प्रदान गरिएको हो । त्यस्तै उनका अनुसार हालसम्म १५ हजार १०९ जना विद्यार्थीलाई कोरोना खोप प्रदान गरिएको छ ।
त्यस्तै कोरोना खोपसँग सँगै विद्यालय किशोरीहरूलाई आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रम पनि सञ्चालन उनले बताए । चक्कीले रक्तअल्पताबाट जोगाउन मद्दत गर्ने भन्दै किशोरीहरूलाई हप्तामा १ चक्की वर्षमा १३ हप्तासम्म लगातार खान दिइने समेत उनले बताए ।
त्यस्तै सोमबार तुलसीपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिनाको बच्चादेखि ६५ वर्ष सम्मका व्यक्ति संक्रमित भएको उनले बताए । तुलसीपुरमा मेट्रो अस्पताल , राप्ती प्रादेशिक अस्पताल र जन स्वास्थ्य प्रवर्द्धन शाखामा ६१ जनामा गरिएको परीक्षणमा १० पुरुष, १५ महिला गरी २५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ९२ जना कोरोना मुक्त भएका छन् । यो सँगै तुलसीपुरमा सक्रिय कोरोना संक्रमित सङ्ख्या २०२ जना रहेको छ, जसमा ५ जना अस्पतालमा भर्ना भएका छन् ।