चार बालवालिकाकाे अभिभावक वडा अध्यक्ष

घोराही । अभिभावकबिहिन बनेका घोराही उपमहानगरपालिका वडा नम्बर १९ तिर्साङका सर्मिला, अशोक, दीपक र सोनिया कामीको लालनपालन र शिक्षादिक्षाका लागि घोराही ४ का वडा अध्यक्ष भिमबहादुर सार्कीले अभिभावकत्व लिने बताए ।

दाङको घोराही १९ राम्चेस्थित कोइलाखानीमा २०७७ फागुन १० गते पुरिएर मृत्यु बुवा मोहनलाल कामीको शोकमा रहेकै बेला मंसिर २८ गते आमा शान्ति कामीको पनि मृत्युभएपछि कलिला बालबालिकाहरुको दैनिकी थप कष्टकर बनेको थाहा पाएपछि वडा अध्यक्ष सार्कीले आफ्नै लगानीमा घरमै राखेर लालनपालन र शिक्षा दिक्षा दिने बताए ।

कामीकै घरमा रासन, न्यायो कपडा लिएर पुग्नुभएका उनले कान्छा बुवा भारतबाट फर्किएपछि घर सल्लाहमा आफुले अभिभावकत्व ग्रहण गर्ने बताए । मानवता नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै आफु जनप्रतिनिधि भएपनि यो नितान्त सामाजिक सेवा रहेको उनको भनाई थियो ।

आफुले सानो छँदा निकै दुखकष्ट सहेको भन्दै घरमै राखेर पढाउने र उनीहरुको भविष्य बनाउने आफुले अठोट लिएको बताए । १३, ११, ६ वर्ष र ११ महिने बालिकाको सानीआमाले घरमै लगेर स्याहार गर्दै आएका छन् । १३ वर्षदेखि कोइलाखानीमा काम गर्दै आएका मोहनलालको १ सय ६० मिटर गहिराइमा च्यापिएर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस