दाङमा पनि मनाईयो पृथ्वी जयन्ती

घोराही । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलनको रूपमा अघि बढाउने राजावादीहरुले उद्घोष गरेका छन् । मंगलबार दाङको घोराहीमा आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै जिल्लास्थित राजावादीहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्काे वर्ष राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन अघि बढ्ने उद्घोष गरेका हुन् ।

पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएकै कारण नेपाल रहेको तथा नेपालभित्र राष्ट्रपति र प्रधानमन्त्री रहेको भन्दै उनीहरुले राष्ट्रनिर्माताको सम्मान गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् । सरकारले पृथ्वी जयन्तीमा दिईने विदा केही वर्षयता हटाएको छ ।

दाङमा पनि राष्ट्र निर्माता पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठानले आयोजना गरेको पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका सन्दर्भमा प्रतिष्ठानका सल्लाहकार भोलानाथ योगीले सच्चा देशभक्तको महिमा गाउन छाडेर अहिलेका राजनीतिक दलहरु सत्तालिप्सामा अल्मलिएको बताए । देश एकीकरण गर्ने व्यक्तिको योगदानलाई एक दिन बसेर बिमर्श गर्न नसक्ने अहिलेका राजनीतिक दलहरु सच्चा देशभक्त हु्नै नसक्ने बताए । बढ्दो कोरोना महामारीलाई मध्येनजर गर्दै कार्यक्रम गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष नमबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार भरत केसी, सनातन हिन्दु संरक्षण समितिका केन्द्रीय अध्यक्ष जयानन्द शर्मा, नेशनल पिपुल्स पार्टीका सदस्य प्रकाश न्यौपानेलगायतले पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै अहिलेको सरकारले राष्ट्र निर्मातामाथि ठूलो अन्याय गरेको बताए । यसका लागि आगामी वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरी आन्दोलनमा होमिने चेतावनी दिए । वीर गोरखाली दाङका संयोजक डिल्ली शाहीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव केबी घर्तीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस