लागूऔषधसहित पाँच जना पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । दुई दिनको अवधिमा ३ युवती र २ जना पुरुष गरी पाँच जनालाई लागू औषधसहित पक्राउ गरेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
इप्रकाबाट खटिएको प्रहरीको विशेष टोलीले तुलसीपुर बजारलगायत आसपासका वडा एरियाबाट पुस १५ र १६ गते ५ ग्राम ७१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर ५ (ख)लाइन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दीपु नेपाली, वडा नं. ६ गरुवागाउँ २९ वर्षीय रुद्रमणि पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं. ७ सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।
प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस