प्रदेशसभा भवन निर्माणको काम रोकियो

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको निर्माण रोकिएको छ । भवन निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट दिन अस्वीकार गरेपछि निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो ।
प्रदेशसभा भवनको डिजाइन परिवर्तन गरी अर्थ मन्त्रालयसँग थप ३ करोड रुपैयाँ माग गरिएको तर अर्थले स्वीकृति नदिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरको भनाईछ ।
त्यसैले निर्माण कम्पनी एमएस ड्रागन बस्नेत जेभीले काम रोकेको घिमिरेले बताए । पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेशसभा भवनमा ढुंगाको छानो, सो छानो लगाउँदा आवश्यक पर्ने फलामको पातालगायतका सामग्री थप्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० दिनअघि अर्थ मन्त्रालयसँग थप बजेट माग गरेको थियो । हालसम्म भवनको ६५ प्रतिशत काम सम्पन्न भइसकेको घिमिरेले बताए ।