मह उत्पादनमा ८० प्रतिशत गिरावट

रुकुम । रुकुम (पूर्व) मा यस वर्ष मह उत्पादनमा भारी गिरावट आएको छ । जिल्लाभरमा यसपाली गर्त वर्षको तुलनामा ८० प्रतिशतले मह उत्पादनमा कमी आएको हो । यस वर्ष जिल्लारभरमा ७ सय २० किलो मह उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम (पूर्व)ले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार यसपालि उत्पादन भएको ७ सय २० किलो मह भनेको गएको वर्षको तुलनामा ८० प्रतिशतले कम हो । जिल्लामा मह उत्पादन यस वर्ष मात्र घटेको होइन् । पछिल्ला केहि वर्षयता वर्षैपिच्छे मह उत्पादनमा कमी आउँदै गएको छ । जिल्लाको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा झन माहुँरीको पकेट क्षेत्रै नै हो । पकेट क्षेत्रसँगसँगै जिल्लाभरनै यसपालि मह उत्पादनमा ८० प्रतिशतले कमी आएपछि कृषकहरु समस्यामा परेका छन् ।

व्यवसायिक रुपमा नै माहुँरी पालन गर्दै आएका कृषकहरु झन बढी समस्यामा परेका हुन् । सिस्ने ३ पोखराका ओमबहादुर खड्काले एक हजार १ सय २५ घार माहँुरी पालेका छन् । ओमप्रकाश खड्काले एक सय ८०, कमलाल खड्काले एक सय २०, कलबहादुर घर्तीले एक सय २५ घार माहुँरी पालेका छन् । उनीहरुजस्तै जिल्लामा विभिन्न फर्म दर्ता गरि माहुँरीपालन व्यवसायलाई अंगालेकाहरु धेरै कृषकहरु छन् । मह उत्पादनबाटै घरव्यवहार चलाउँदै आएकाहरुले पछिल्लो समयमा उत्पादन भएको महको परिमाणलाई हेरेर चिन्ता व्यक्त गरेका छन् । हाल जिल्लाभर २ हजार ३ सय ५० घार तथा गोला माहुँरी रहेको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए ।

उनकाअनुसार एक हजार ५ सय ६५ वटा आधुनीक घार छन् भने ७ सय ८५ वटा मुढे घार रहेका छन् । जिल्लामा मह उत्पादन घट्दै जानुको प्रमुख कारण माहुँरीको घार संख्या थपिदै जानु तर चरण क्षेत्रको विस्तार नहुनु रहेको कृषि अधिकृत बस्नेतले बताए । पोखरालाई माहुँरीको पकेट क्षेत्र घोषणा गरेपछि कृषकहरु माहुँरीपालनमा आकर्षीत भएका छन् । पोखरा माहुँरीमय भइरहेका बेलामा जिल्लाको अन्य ठाउँमा पनि माहुँरी पालक कृषकहरुको वृद्धि हुँदै गएको तर माहुँरीको लागि चरण क्षेत्रको विस्तारतीर कसैले ध्यान नदिदा यस्तो समस्या आएको बस्नेतको भनाई छ । यस्तै उनकाअनुसार माहुँरी चरणको प्रमुख स्रोत चिउरी हो । यहाँ चिउरी फुल्ने बेलामा वर्षा भएपछि अर्काे समस्या थपिएको हो ।

किसानले आधुनीक घारको प्रयोग गर्नु तर त्यसमा आधारचाका प्रयोग नगर्नु, रोग किराको प्रकोपले गर्दा मह उत्पादनमा कमी आएको निष्कर्ष एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले जनाएको छ । ‘चिउरीबाट रस प्राप्त हुन्छ, माहुँरीलाई रस सँगसँगै कुटको पनि आवश्यकता पर्छ’ कृषि अधिकृत बस्नेतले भने, ‘कुट तोरीमा पाइन्छ, चिउरी फुल्ने बेलामा तोरी लगाउने चलन हराउँदै गएको छ ।’ यसकारण पनि मह उत्पादनमा कमी आएको कार्यालयका कृषि अधिकृत बस्नेतको भनाई छ । मह उत्पादनमा कमी आएर कृषकहरु निराश बनिरहदा कार्यालयले सिस्नेको ३ र ४ नम्बर वडामा मौरी ब्लक कार्यक्रम सञ्चालन गर्दै छ भने अन्य ठाउँमा मौरी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । विकास र ब्लकमार्फत कृषकको मागमा आधारित कार्यक्रमहरु सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

जिल्लामा सिस्नेको ३ र ४ मा सबैभन्दा बढी मह उत्पादन हुन्छ । यसैगरी ५, ६, ७, ८, भूमे गाउँपालिकाको ८ र ९ तथा पुथाउत्तरगंगा गाउँपालिकाको १० र ११ मा माहुँरीपालन व्यवसाय राम्रो हुने गरेको छ । जिल्लामा मह उत्पादनबाट आर्यआर्जनको सम्भावना राम्रो रहेको छ । अहिले कृषकहरुले उत्पादन गरेको महले बजारको माग धान्न सकिरहेको छैन् । जिल्ला भित्रको विभिन्न ठाउँसँगै अन्य जिल्लाबाट महको माग आउने गरेपनि जिल्ला भित्रैको माग धान्न नसक्दा बाहिरको माग पूरा हुने कुरै भएन, कृषक ओमप्रकाश खड्काले भने । अहिले २५ सयदेखि ३ हजार रुपैयाँ प्रतिधार्नीमा मह बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस