सय वर्ष माथिका महिलालाई सम्मान गर्दै १६ दिने अभियान

गढवा । एकसय बर्ष काट्नुभएकी गढवा ५ धर्मपुरकी कोहली चौधरीले शुक्रबार गढवा गाउँपालिकाबाट सम्मान पाउँदा खुसी भए । गाउँपालिकाले बोलाएर सम्मान गरेको देख्न पाउँदा मर्न लाएको बेलामा स्वार्ग देख्न पाए जस्तो लाग्यो–उनीले भनिन् । गाउँपालिकाले सम्मान गर्ने खबर पठाएपछि लौरो टेकेर गढवा ६ की ९२ बर्षिय बुढीआमा धापाली यादव गाउँपालिकामा पुगिन् । गाउँपालिकाले जाडोमा ब्लाङ्केट ओढाएर सम्मान गर्दा अहिलेको जाडो काट्ने भएँ भन्दै उनीले भनिन् । गढवा ६ कुमालगाउँकी सयबर्ष काटेकी बयोबृद्ध आमा गलीया कुमाल्नीले पनि जाडोको बेला ओढ्ने कम्बल पाउँदा खुसी प्रकट गरिन् । त्यस्तै गढवा ७ की बिपन्न सिमान्तकृत बर्गकी एकल महिला अनुराधा सार्कीले पनि गाउँपालिकाको सम्मान लिन पाउँदा खुसीले आँखा रसाएको बताइन् ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत गत मंसीर ९ का दिन सुरु गरिएको कार्यक्रम गढवाका सबै वडाहरु र अधिकांश बिद्यालय हुँदै शुक्रबार समापन गरिएको हो । समापन कार्यक्रममा गाउँपालिकाले चारजना बयोबृद्ध र सिमान्तकृत महिलाहरुलाई सम्मान गरेको हो । यसैगरी गढवा गाउँपालिकामा रेडक्रसको इन्कोर परियोजना मार्फत समाज रुपान्तरण र लैंगिकहिंसा न्यूनिकरणमा गाउँपालिकासंग सधैब समन्वय र सहकार्यका साथ महत्वपूर्ण भूमिका खेलेको भन्दै रामधुनी ६ सुनसरी निवासी देवि प्याकुरेललाई शुक्रबार गढवा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्भूराज आचार्यले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत दाङ देउखुरीका शाखा अधिकृत राजेन्द्र कुमार शर्माले सहभागिहरुलाई बर्तमान कानून र लैंगिक हिंसाका प्रकारहरुका बारेमा प्रशिक्षण दिए । कार्यक्रमका सहआयोजकका रुपमा गढवा गाउँपालिका क्षेत्रमा कार्यरत एक दर्जन बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सो अवसरमा उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने, नागरिक समाजका अगुवा मोहन कुमार पाण्डे, महिला अधिकारकर्मी रेखा थापा र सामाजिक अभियन्ता देवि प्याकुरेललगायतले बोलेका थिए ।

कार्यक्रममा जनता माध्यमिक बिद्यालय कालाकाटे र गढवा तथा सरस्वती माध्यमिक बिद्यालय गोबरडिहाले आयोजना गरेको लैंगिक हिंसा बिरुद्धको अभियानमा आयोजित बिद्यमालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुने ६ जनालाई पुरस्कार र तिन जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । शान्ती पुर्नस्थापना गृह कोइलाबासका सुपरवाइजर कैलासु चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य शोभा रावतले गरिकी थिइन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस