घोराही उपमहानगरको न्यायिक समितिमा ४ महिनामा ५७ मुद्धा दर्ता

घोराही । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा चालुआर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकमा ५७ वटा मुद्धा दर्ता भएका छन् । न्यायिक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

न्यायिक समितिका संयोजक तथा घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले चालुआर्थिक वर्षको चार महिनाको अवधिमा ५७ वटा मुद्धा दर्ता भएको जानकारी दिए ।

यसरी दर्ता भएका मुद्धा मध्ये ११ वटा मिलापत्र भइसकेका छन् भने ४६ वटा मुद्धा प्रक्रियामा रहेको उनको भनाइ छ । सबैभन्दा बढी जग्गा रोक्काका २३ वटा मुद्धा दर्ता भएको जनाइएको छ ।

जसमा ५ वटा मिलापत्र भइसकेको र १८ वटा प्रक्रियामा रहेका छन् । समितिमा लेनदेनका ६ वटा मुद्धा दर्ता भएका थिए । जग्गा विवाद सम्बन्धी ११ वटा परेकोमा २ वटा मिलापत्र भएको र ९ वटा प्रक्रियामा छन् ।

त्यसैगरी घरेलु हिंसा सम्बन्धी ६ वटा मुद्धा दर्ता भएकोमा परेकोमा २ वटा मिलापत्र भएको र ४ वटा प्रक्रियामा छन् । समितिमा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका एक सय ५ वटा मुद्धामध्ये हालसम्म १२ वटा मुद्धा मिलापत्र भएको र ९३ वटा मुद्धा प्रक्रियामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस