भाडा महँगो भएपनि घाटामा सेवा दिँदै निगम

दाङ । दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हाल हप्तामा ५ दिन उडान हुँदै आएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु हुनु पूर्व दैनिक २ वटा उडान दाङ – काठमाडौँ हुने गर्दथ्यो । तर, भाडा  महँगो हुँदा यात्रुहरू भने  नेपालगन्ज र भैरहवाबाट हवाई यात्रा गर्ने बाध्य भएका छन् ।

  सानो विमान मात्रै अवतरण गर्ने र विमानले इन्धन पनि बोकेर ल्याउनु पर्ने भएको हुँदा  त्यसैले अपरेटिङ चार्ज बढी पर्न गई भाडा  महँगो पर्न गएको नेपाल एयरलाइन्स दाङका स्टेसन म्यानेजर नेमकान्त लम्सालले बताए ।  उनका अनुसार ठूला जहाज भन्दा दाङमा सानो जहाज आउने भएकाले पनि भाडा महँगो  भएको हो ।  उनले भने,‘ यहाँ आउने जहाज १९ सिट क्षमताको हो ।

पहिले १२ जना सम्म मात्र यात्रु बोक्ने गर्दथ्यो । अहिले करिब १५ जना सम्म बोक्दै आएको छ । जसले गर्दा भाडा महँगो भएको हो । ’ यदि दाङमा ठूला जहाजहरूले सेवा प्रदान गरेको भए । यति भाडा नहुने समेत उनले बताए ।  उनका अनुसार दाङदेखि काठमाडौँ हवाई भाडा ६ हजार ८१० देखि  ७ हजार ३१० रहेको छ ।  

त्यस्तै काठमाडौँदेखि दाङको हवाई भाडा ८ हजार ५०० देखि ९ हजार २०० निर्धारण गरिएको छ । तर, यो भाडाले पनि प्रत्येक उडानमा करिब ४० हजार सम्म निगमले घाटा बेहोर्दै आएको उनको भनाइ छ । ‘ हामीलाई सेवा पनि आवश्यक छ । निगमले घाटा खाएर उडाउन बाध्य छ ,’ उनले भने ।  धावन मार्ग सानो , इन्धन पनि आफै बोकेर  सानो विमान आउँदा भाडा महँगो भएको टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले बताए ।

यहाँ भाडा महँगो हुँदा यात्रुहरू सस्तो भाडामा नेपालगन्ज र भैरहवाबाट यात्रा गर्ने गरेको समेत उनको भनाइ छ ।   ‘ निजी विमानहरूको भन्दा यहाँको भाडा अलि महँगो नै छ,‘ उनले भने,‘ यहाँ इन्धनको सुविधा नहुँदा जहाजले काठमाडौँबाट नै इन्धन  बोकेर आउनु पर्दछ । एक त सानो जहाज त्यसमा पनि ४ जना यात्रु बराबर इन्धन  बोकेर ल्याउँदा महँगो भएको हो ।’

 यदि यहाँ पनि ठुलो जहाजहरूले सेवा दिने र इन्धनको ब्यवस्था भएमा यहाँबाट यात्रुहरू बाहिर जान नपर्ने समेत उनले बताए ।  महँगो भाडाका कारण दाङ र आसपासका जिल्लाका यात्रुहरूले  नजिकको एयरपोर्ट छोडेर बाहिर जानु पर्ने बाध्यता रहेको छ । धावनमार्ग बिस्तार भइ ठूला  जहाज अवतरण गर्न सक्ने भएपछि मात्रै टरिगाउँ एयरपोर्टको भाडा घट्ने तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले बताए ।

उनले १८ सिट विमानले १२ यात्रु बोक्दा भाडा महँगो हुँदा यहाँका यात्रुहरूलाई  बोझ परेको बताए । उनले  अस्थाई रुपमा सञ्चालनमा आएको विमान भएकाले पनि यात्रुले कहिले सम्म  थेग्न  भन्दै यो सेवाबाट नागरिक सन्तुष्ट नहुने समेत बताए ।  उनले भने,‘ सबै ठाउँका नागरिकहरूको अधिकार एउटै हुनुपर्दछ ।

दाङका नागरिक  महँगोमा यात्रा गर्न बाध्य भएका छन् । तर, बाँके र रूपन्देहीका नागरिक यही सेवा सस्तो लिँदै आएका छन् । हामीले लामो समयदेखि अस्थाई रुपमा त्यो पनि महँगो  मा यात्रा गर्न बाध्य भएका छौँ । विमानस्थलको  स्तरउन्नती  र इन्धन डिपोको व्यवस्था राज्यले तुरुन्त गर्नुपर्दछ ।  हामीले कहिले सम्म यस्तो  बोझ बोक्ने ? ’

दाङ–काठमाडौँ हवाइ भाडाँ महँगो हुँदा सबैको पहुचमा नभएको तुलसीपुरका व्यवसायी तथा यात्रु यज्ञ बहादुर केसीले बताए । त्यस्तै उनले भाडा समायोजकका लागि आवश्यक पहल गर्नु पर्ने समेत बताए ।  ‘ दाङबाट हप्तामा ५ पटक सानो विमानले सेवा प्रदान गर्दै आएको छ,’ उनले भने,‘ तर, कसैलाई अतिआवश्यक काम परेमा यहाँको भाडा महँगो हुँदा २-३ घण्टाको यात्रा गरेर नेपालगन्ज वा भैरहवा जान बाध्य भएका छन् । यहाँबाट काठमाडौँ जाने पैसाले त्यहाँबाट आउन र जान पुग्छ । त्यसैले अब विमानस्थलको विस्तार गरी ठूला जहाज बस्ने बाताबरण मिलाउन राज्यले ध्यान दिनु पर्दछ ।’ 

 नेपाल एयरलायन्सले हाल हप्तामा ५ वटा उडान गर्दै आएको छ । तत्काली लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । जसको लम्बाई जम्मा ७५० मिटर र चौडाई ३० मिटर मात्रै रहेको छ । त्यही भएर यहाँ ठूला बिमानस्थल अबतरण गर्न सक्दैनन् ।

टरिगाउँ बिमानस्थल बिक्रम संबत २०११ देखि सञ्चालनमा आएको इतिहास छ । जसबाट २०१३ सालदेखि २०४२ सालसम्म घाँसे मैदान छँदै दैनिक नियमित विमान सञ्चालन भएको थियो । २०४३ सालमा बन्द भएको हवाई सेवा २०४८ सालमा फेरि सुरु भएको थियो ।

फेरि २०५४ सालमा बन्द भएर २०५९ पुन सञ्चालन आएको थियो । त्यसपछि २०६३ सालमा पुन : बन्दभएको विमान सेवा २०७६ सालदेखि नियमित उडान भइरहेको छ । तर,आज आएर जिल्लाबासी विमानस्थलको धावनमार्ग बिस्तारको माग गर्दै आएका छन् । 

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस