दाङबाट जंगली जनावरको सुकुटीसहित दुई पक्राउ

दाङ । दाङबाट जंगली जनावरको सुकुटीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी वर्ष २८ वर्षिय बलबहादुर कुमाल र सोही गाउँ निवासी वर्ष २८ वर्षिय मीनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
गएराती एक बजेको समयमा राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा चामलको कट्टामा अन्दाजी २२ किलो र अर्काे कट्टामा २५ किलो सुकुटी फेला परेको प्रवक्ता रिजालले बताए ।
नियन्त्रणमा रहेका उनीहरुले जंगली जनावरको भनेर बयान दिएको तर त्यो सुकुटी परिक्षणपछि मात्र केको हो भनेर पत्ता लाग्ने प्रवक्ताको भनाई छ । पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताए । पछिल्लो समय यता प्रहरी र वन कार्यालय लमहीले सक्रियता बढाएपछि धमाधम त्यस्ता काममा संलग्नता भएका व्यक्तिलाई पक्राउ गर्दै आएको छ ।