को हुन् बुटवलका मेयर सुवेदीलाई मुक्का प्रहार गर्ने युवा ?

बुटवल । पहिरो अवलोकन गर्न गएका मेयरलाई मुक्का प्रहार गर्ने पहिरो पीडित एमाले कार्यकता गणेश पङगेनी रहेको पुष्टि भएको छ । पङगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । बुटवलको ज्योतिनगर आसपासमा गएको पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई पङगेनीले मुक्का प्रहार गरेका थिए ।

रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा गएकाथिए । उनीसंगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो ।

पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्धारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ पुगेको उपमहानगरले जनाएको छ ।

सोही क्रममा नुरुप्रसाद पङ्गेनीका छोरा २६ वर्षीय गणेश पङगेनीले मेयर सुवेदी माथि मुक्का प्रहार गरेका थिए । पहिरोका कारण घर पूर्ण रुपमा क्षती भएपछि पहिरो पीडित नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएको छ । पङेगनीको परिवारमा ५ जना रहेको छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्। उनी नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत (सामाजवादी) को विद्यार्थी संगठनमा आवद्ध हुँदै आएका छन् । विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

पहिरोबाट घर लगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले सहयोग नगरेको भन्दै उनी आक्राेशित थिए । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्याल गणेश पङगेनीको पहिरो पीडित भएको बताए ।ग्लोबल आवाजबाट

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस