सडक मिचेर व्यवसाय गर्न नपाइने

दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले लमही बजारमा गुडिरहेका ठेलालाई ब्यबस्थापन गर्न पहल थालेको छ । संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा आइतवार उद्योग बाणिज्य संघको टोलीले स्थलगत अनुगमन गर्दै बजारमा सडक मिचेर गरेका व्यवसायलाई हटाउन निर्देशन दिएको हो ।

लमही बजारमा नाला बाहिर सामान राखी व्यापार ब्यबसाय र बजार क्षेत्रमा जथाभावीरुपमा ठेला व्यवसाय गर्नेलाई हटाउन निर्देशन दिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए । नालाभन्दा बाहिर अस्थायीरुपमा ब्यापार सञ्चालन गरिएको कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनुका साथै दुर्घटनाको समेत जोखिम हुने भएकाले बजारमा जथाभावीरुपमा गरिएको व्यवसाय हटाउन थालिएको अध्यक्ष खनालले बताए ।

उपभोक्ताको चहल–पहल बजारमा बढ्दै जाँदा सडक साँघुरो हुने गरी गरिएका सडक व्यापारले उपभोक्तालाई असर गरेपछि उद्योग बाणिज्य संघकै पहलमा बजारमा अनुगमन गरी नियमविपरीत गरिएका व्यवसाय हटाउन थालिएको संघका महासचिव लेखराज केसी (बसन्त)ले बताएका छन् । तर सडकमा व्यवसाय गर्ने व्यवसायीहरुले आफूहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस