मजदुरबाट मालिक बनेकी लक्ष्मी

देउखुरी । देउखुरीको गढवा गाउँपालिका वडानं.२ महदेवा निवासी लक्ष्मी चौधरी केही बर्ष पहिले मजदुरी गरेर जिविका चलाकी छिन् । एक छोरी र २ छोरा जन्मिएपछि लक्ष्मीका श्रीमानले उनीलाई छोडेर अर्की श्रीमती बिहेगरी अन्यत्रै जाएका छन् । छोराछोरीहरुलाई पढाउने र घरखर्च तथा नाना–चाचाको जोहो गर्न दिनभर अर्काको मजदुरी गरेर लक्ष्मीले दिनचर्या गुजार्न बाध्य छिन् ।

श्रीमानले अर्की लगेर गएपछि सन्तानको रेखदेख, पढाई लेखाई र लालनपालन मेरो काँधमा थपिएकोे बताउँछिन् । मैले दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै बर्षौ बिताएँ–लक्ष्मीले गहभरी आँशु झार्दै दुखेसो पोख्खिन् । श्रीमानले नै अर्की लगेर आफूलाई छोडेर गएपछि लक्ष्मिलाई चिन्ता माथी चिन्ता थपिएको बताउँछिन् । दैनिक ज्यालादारीमा काम गरेर आफू र परिवारको खर्च टार्दै मुस्कीलसँग दिनचर्या बिताएको लक्ष्मीले बताउँछिन् ।

यसै क्रममा लक्ष्मी चौधरी गाउँका महिलाहरु आवद्ध रहेको जनप्रयास समूहको सदस्य रहेकी छिन् । समूहमा आवद्ध बिपन्न सिमान्तकृत र बेसाहारा महिलाहरुका लागि गढवा र राजपुर कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चले ब्यवसायका लागि सपोर्ट गर्दो रहेछ भन्ने कुरा लक्ष्मीले पत्ता लगाइन् । अधिकार मञ्चले पनि निजको स्थिति बुझ्यो ।

लक्ष्मीलाई अर्काको मजुरी गर्न भन्दा सानो भएपनि आफ्नै ब्यवसाय गर्ने आँट र पे्ररणा जाग्यो । बिगत एकबर्ष अघि दक्षिण देउखुरी अधिकार मंचले लक्ष्मीलाई खुद्रापसल गर्न भनि २० हजार अनुदान दियो । त्यसमा ऋण धन र सहि सापट गरेर ४७ हजारको लागतमा लक्ष्मीले गाउँमा एउटा किराना पसल खोलिन् । ब्यवसायलाई बिस्तार गर्दै उनले सजिलै गर्ज टार्न सक्ने भइन् । पछि आफ्नो छोरालाई पनि लक्ष्मीले त्यही ब्यवसाय तर्फ लगाइन् ।

लक्ष्मीले खुद्रा पसलबाट कमाउँदै आएको रुपियाँले ब्यवसाय विस्तार गर्दै ब्रोइलर कुखुरा फर्म र फे्रस हाउस समेत संचालन गर्न थालिन् । अहिले राम्रो कमाई गर्दै आएको उनले बताउँछिन् । छोराछोरी पढाउनेदेखि घरखर्चको सबै काम ब्यवसायले सजिलै धानेको छ । यत्तिमात्र हैन मैले एक बर्षमा ब्यवसाय विस्तार गरेर पनि तीन लाख बढी कमाउन सफल भए लक्ष्मीले बताइन् ।

छोराले पनि ज्याला मजदुरी गर्न छोडेर मलाई सघाएको छ । कुनै दिन बेसाहारा बनेर दुधे वालक स्याहार्न हम्मेहम्मे परेको र अरुको मजुरी गरेर गुजारा गरेको जिवनको दिनचर्या यसरी बदलिएला भनेर कल्पना समेत गर्न नसकेको लक्ष्मीले बताउँछिन् । एउटा संस्थाको सानो सहयोग र संस्थाले देखाएको बाटोमा अघि बढ्दै जाँदा अहिले म आत्मनिर्भर बन्न पुगे । मेरो जिवनमै चमत्कार भए जस्तो लागेको छ लक्ष्मीले भनिन् । श्रीमानले अर्की लगेर गएपनि अब मलाई कुनै प्रकारको समस्या छैन । आफ्नो खुट्टामा उभिन सफल भए । मजदुरबाट मालिक बनाउन संस्थाले देखाएको बाटो र सहयोग कहिल्यै बिर्सिन्न उनीले भनिन् ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस