दाङको तुलसीपुरमा थप ७ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरमा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर ७ का ४ जना महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । पर्सेनी नगर स्वास्थ्य केन्द्रमा गएको मेट्रो अस्पतालको स्वास्थ्य शिविर टोलीले कोरोना परीक्षणमा गर्दा उनीहरूलाई संक्रमण पुष्टि भएको हो । संक्रमण हुने व्यक्तिहरू १३ वर्षदेखि ५८ वर्ष सम्मका रहेका उनको भनाइ छ । ति व्यक्तिहरूमा कोरोनासँग सम्बन्धित लक्षण देखिएपछि शिविरमा परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो । अहिले सबै होम आइसोलेसनमा रहेको फोकल पर्सन विमल केसीले जानकारी दिए । यो सँगै तुलसीपुरमा सक्रिय संक्रमित संख्या ४० रहेको छ, भने हालसम्म तुलसीपुरमा ४ हजार २५९ जनामा संक्रमण पुष्टि भएको छ, भने निको हुने संख्या ४ हजार ३२५ जना रहेको छ ।

त्यसैगरी हाल ३७ जना होम आइसोलनमा रहेका छन्, भने २ जना कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा आइसियुमा उपचाररत रहेको उनले जानकारी दिए । यसैगरी सोमबार थप १३ जना कोरोना मुक्त भएका छन् । त्यस्तै तुलसीपुरमा कोरोना सङ्क्रमणका कारण हालसम्म मृत्यु १०८ को मृत्यु भएको छ, भने जिल्ला बाहिर मृत्यु भएको सख्या समेत गरी ११६ जनाले राहतको लागि निवेदन दर्ता गरेको उनको भनाइ छ ।

त्यस्तै तुलसीपुरमा सोमबार १ हजार १६४ जना विद्यार्र्थीलाई एस्ट्राजेनेकाको पहिलो मात्रा विद्यालयमा नै केन्द्र राखी प्रदान गरिएको छ । आइतबार र सोमबार गरी २ हजार २१० जना विद्यार्थीलाई खोप प्रदान गरिएको उनले जानकारी दिए । त्यस्तै तुलसीपुर मेट्रो अस्पतालद्वारा सञ्चालित वार्ड स्तरीय स्वास्थ्य घुम्ती शिविरमा सोमबार वार्ड नं. ७ र १८ को नगर स्वास्थ्य केन्द्र मा १९० जनाले सेवा लिएका छन् । जसमा २२ जनाको सुगर परिक्षण, ६६ जनाको कोरोना टेस्ट, ४ जना पोस्ट कोभिड परिक्षण, अन्य ९३ जना बिरामीको स्वास्थ्य परिक्षण तथा परामर्श र निःशुल्क औषधि वितरण गरिएको फोकल पर्सन केसीले जानकारी दिए । मेट्रो अस्पतालले सबै वार्डमा कोभीड स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बमोजिम दैनिक हरेक वार्डमा मेडिकल टीम सहित स्वास्थ्य परिक्षण अभियान सञ्चालनमा ल्याएको छ ।

त्यसै अन्तर्गत मंगलबार वार्ड नं. १५ र १ मा शिविर सञ्चालन हुने जनाइएको छ । उक्त शिविरमा अस्पतालका मेसु डा. सर्जन प्रकाश शाहू सहित डा. तिलक केसी, डा. खुमबहादुर डाँगी, डा. विवश न्यौपाने सहितको नर्सिङ, ल्याबकर्मी, स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस