कोभिड बिरुद्ध खोप मागसहित शान्ति समाजले ७ बुँदे ध्यानाकर्षण पत्र

दाङ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको सुनिश्चिता गर्न माग गरेको छ । शाखाले नेपालको संविधान २०७२ मा उल्लेखित मौलिक हकमा ब्यवस्था भए अनुसार धारा ३५ लाई कार्यान्वयन गर्दै स्वास्थ्य सम्बन्धी हकको सुनिश्चिताको माग गरेको छ । शाखाले सबै बालबालिकालाई खोप लगाई शैक्षिक गतिविधि सञ्चालन गर्न माग सहितको ७ बुँदे ध्यानाकर्षण पत्र बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङलाई बुझाएको छ । सबै नागरिकलाई व्यवस्थित रुपमा खोप उपलब्ध गराउन र कोरोना परीक्षणको दायरा बढाउन समेत आग्रह गरिएको समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले बताए ।

उनले तेस्रो लहरबाट बालकालिका तथा जेष्ठमा नागरिकहरू बढी प्रभावित हुने प्रक्षेपणको आधारमा हुन सक्ने संक्रमण र सङ्क्रमितहरूको भर्ना तथा उपचारका लागि आवश्यक तयारी गर्न, विगत लामो समयदेखि बालबालिकाहरू अध्ययन गर्न नपाएको भन्दै शान्ति समाजको ध्यानाकर्षण भएको समेत बताए । उनले प्रविधि मार्फत अध्यापन गराइएको भएपनि सबैको पहुँच हुन सकेको भन्दै बालबालिकाहरूलाई खोप ब्यवस्था गराई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै बालबालिकाको पहुँच हुने शैक्षिक गतिविधि सञ्चालन गर्न माग गरिएको समेत बताए ।

त्यस्तै, विपदबाट प्रभावित नागरिकलाई सुरक्षित रुपमा पुनस्र्थापना र राहत उपलब्ध गराउन, विपद हुन सक्ने सम्भावित क्षेत्रको पहिचान गरि ती नागरिकलाई सुरक्षित आवासमा ध्यान दिन, कोरोना विरुद्ध नागरिकलाई थप सचेतना दिन अभियान सञ्चालन गर्नुपर्ने अवस्था देखिएकोले बहुपक्षीय समन्वय र सहकार्य गर्न, कोरोनाका कारण कमजोर अवस्थामा रहेको आर्थिक क्षेत्रका गतिविधिलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गतिशील बनाउन ध्यानाकर्षण पत्र मार्फत माग गरिएको दाङ शाखाका सभापति तुलसीराम सुनारले बताए ।

उनले सबै जातजाति र धर्मावलम्बीहरूले मनाउने चाडपर्व नजिकिँदै गर्दा गुणस्तरीय उपभोग्य बस्तु, मूल्यमा एकरूपता र गुणस्तरीय सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र दाङका १० वटै स्थानीय तहलाई बुझाउन शुरु गरेको समेत बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, लमही नगरपालिकाका उपप्रमुख देविका बेल्बासे, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव र राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यस्तै अन्य स्थानीय तहमा बुझाउन क्रम जारी रहेको शान्ति समाज दाङ शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस