सिसहनियाँ स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु
दाङ । दाङको राप्ती गाउँपालिका अन्तरगत सीसहनिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसीजी सेवा सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भिडियो एक्सरे तथा ईसीजी सेवाको उद्घाटन गर्दै नागरिकको स्वास्थ्य सेवा सर्व सुलभ पाउने अधिकार लाई संस्थागत गर्न सीसहनियामा भिडियो एक्सरे तथा ईसीजी सेवा सुरु गरिएको बताए ।
अध्यक्ष सुवेदीले गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरि सेवा सुरु गरिएको बताउँदै नागरिकको स्वास्थ्य सुरक्षाको लागि गाउँपालिका लागि रहेको बताइ । भिडियो एक्सरेको प्रभावकारीका लागि स्वास्थ्य चेकजाँच गरेपछि गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले स्वास्थ्य सेवा लिन चाहने नागरिकले भिडियो एक्सरे तथा ईसीजी सेवा लिन महँगो शुल्क तिर्नुपर्ने र टाढा जानुपर्ने समस्या समाधान भएकोले सर्वसुलभ सस्तो सेवाका लागि सरकारी स्वास्थ्य संस्था रोज्नुपर्नेमा जोड दिइन् ।
गाउँपालिकाले गत वर्ष लालमटिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसीजी सेवा सुरु गरेपश्चात् सीसहनिया स्वास्थ्य चौकीका सेवाग्राहीको माग बमोजिम सीसहनिया स्वास्थ्य चौकीमा समेत भिडियो एक्सरे तथा ईसीजी सेवा सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । नागरिकको स्वास्थ्य उपचारका लागि अन्य आवश्यक उपकरणको ब्यवस्था गर्न थप पहल भैरहेको सीसहनिया स्वास्थ्य चौकी सञ्चालक समिति अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताए ।
गर्भवती चेकजाँच, मृगौला, छाती, कलेजो, पित्त, पाटेघरको, पेट सम्बन्धी समस्या लगायत महिला पुरुषमा देखिने विभिन्न समस्याको समाधानका लागि भिडियो एक्सरे तथा ईसीजी सेवा प्रभावकारी रहेको बताउँदै भरपर्दाे स्वास्थ्य सेवा लिन सीसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीमा आउन सेवा ग्राहकलाई डाक्टर पुष्प भुसालले अनुरोध गरे । सर्वसुलभ रुपमा चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिन स्वास्थ्य चौकी प्रमुख धन बहादुर खड्काले आम नागरिकमा अनुरोध गरे ।