सरकारले मासिक २० युनिटसम्म खपत गर्नेलाई बत्ती निःशुल्क बाल्न दिने

काठमाडौं । सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई बत्ती निःशुल्क बाल्न दिने निर्णय गरेको छ । बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यो जानकारी दिइन् । यस्तै उनीले आयातित ग्यासँलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महसुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै किसानलाई सिंचाईमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ । ‘विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडौँ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने मन्त्री भुसालले स्पष्ट पारिन् । यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभी ड्युडीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि उनले जानकारी दिइन् ।

उनले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दाे जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्युबेल सीमान्तकृत र साना किसानको जीवनस्तर उठाउने माध्यम भएको भन्दै विद्युत् बढी माग हुने समयमा महसुलमा ८० प्रतिशत र अन्य समयमा पूर्णरूपमा छुट दिने पनि बताइन् । यसअघि सञ्चालनमा आइ विद्युत महसुलको बक्यौताका कारण सञ्चालन हुन नसकेका डीप ट्युबेलको जरिबाना मिनाहा गरिने पनि मन्त्री भुसालले बताइन् ।

यस्तै सरकारले सातै प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने भएको छ । मन्त्री भुसालले प्रदेश नं. १ मा दूधकोसी र तमोर आयोजना अघि बढाउन लागेको बताइन् । प्रदेश २ मा ऊर्जाबाट विद्युत् उत्पादन तयारी गरिएको, वाग्मतीमा कुलेखानी र सुनकोसी ३, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनी प्रदेशमा नौमुरे र माडी, कर्णालीमा नलगाड र सुदूरपश्चिममा सेती जलविद्युत आयोजना उत्पादनको काम अगाडि बढाउने उनीले बताइन् ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस