दाङ रोल्पा नयाँ रुट : दहवन–रिहार जोड्दै

दाङ । पञ्चायतकालमा गोरेटोबाट घोडेटोका रुपमा रुट खुलेको दहवन–बिजौरी सडक संघीयता आएसँगै सडक यातायात सेवाले जोडिएको छ । रोल्पालाई दाङसँग जोड्ने मध्यविन्दुमा रहेको यातायातको यो नयाँ रुट अब बिजौरी हुँदै जलकुण्डीबाट रिहारसम्म जोडिने पर्खाइमा छ ।

रोल्पालाई दाङसँग जोड्ने मध्य दाङको यो सबैभन्दा छोटो रुट पनि हो । रोल्पाको दहवनबाट बिजौरी जोड्न बढीमा २८ किमि मात्रै छ । यो नयाँ र सबैभन्दा छोटो रुटमा बाह्रै महिना यातायात सेवा सञ्चालनका लागि पछिल्लो समयमा बिजौरी उद्योग वाणिज्य संघले सार्थक पहल थालेको छ । नयाँ रुटकोको स्थायीत्वसँगै रोल्पाका दक्षिणी भेक रुन्टिगढी गाउँपालिकाका करिब सबै वडाका स्थानीयबसीहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

अहिले भर्खरै सञ्चालनमा आएको यो सडक यातायात सेवाले त्यहाँका बिरामीहरुलाई स्वास्थ्य उपचारका लागि दाङ आउन समेत निकै सहज हुने बताइएको छ । तत्कालका लागि रोल्पाको दहवनलाई बिजौरीसम्म जोड्ने र त्यसपछि मानपुर हुँदै दक्षिण तर्फको पूर्वपश्चिम राजमार्गको जलकुण्डीमा जोडिने छ ।

अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरु, बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारीहरु, रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष भिम बहादुर पुनलगायतको टोलीले रानीवासस्थित ग्वारखोलामा तत्काल हिमपाइपका लागि सर्वे समेत गरेका छन् । केही समयका लागि काम चलाउन खोलामा ५र६ वटा ठूलो साइजका हिमपाइप विच्छाएर यातायात चलाउन सकिने प्राविधिकहरुले बताएका छन् ।

‘हामी रोल्पालाई बिजौरीमा जोड्न चाहन्छौं, ताकी यसले फेरी दीर्घकालीनरुपमा मानपुर हुँदै रिहारलाई पनि जोड्ने छ’ –बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले भने । उनले यसमा रोल्पाको रुन्टिगढी गाउँपालिकाले पनि विशेष पहल गर्नुपर्ने बताए । रोल्पालाई बिजौरीमा जोडेर पूर्वपश्चिम राजमार्गसम्म जोड्न सकिए यो सडकले शहिद स्मृतिमार्ग हुँदै मध्यपहाडी लोकमार्गलाई पनि जोड्ने उनको भनाइ थियो ।

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका ८ का वडाध्यक्ष भिमबहादुर पुनले आफुले यही साउन २८ गते हुन थालेको रुन्टिगढी गाउँपालिकाको कार्यपालिका बैठकमा यो सडकलाई तत्काल सञ्चालनका लागि आवश्यक प्रस्ताव लैजाने बताएका थिए । ‘यो सडक हाम्रो गाउँपालिकाको वडा नम्बर १ बाहेक ८ वटै वडाका स्थानीयबासीलाई पायक पर्ने सडक हो, त्यसैले पनि हामी सबै वडाध्यक्षहरुले यो सडक तत्काल सुचारुका लागि आवश्यक पहल गर्न र आर्थिक लगानी गर्न समेत गाउँपालिका बैठकमा प्रस्ताव लैजाने छौं’–अध्यक्ष पुनले भने ।

सडक अवरुद्ध भएपछि सो क्षेत्रका स्थानीयबासीहरु यात रोल्पाको होलेरी हुँदै घोराही यात दहवनबाट कपुरकोट हुँदै तुलसीपुरसम्म धाउन बाध्य भएका छन् । यसरी घुम्नुपर्दा कम्तिमा पनि एक पटक आवतजावत गर्दा एक हजार रुपैयाँ भाडा मात्रै खर्च हुने गरेको उनीहरुको भनाइ छ । सुत्केरी व्यथाले च्यापेपछि बच्चा जन्माउन होस् वा नुन तेलको जोहो गर्न उनीहरुको मुख्य बजार दाङको घोराही र तुलसीपुर नै हो । त्यहाँको स्थानीय उत्पादन कृषि उपजको बजार पनि दाङ नै भएको स्थानीयबासीले बताएका छन् ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस