नेपालमा दुई करोड ५० लाख जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप चाहिने

१२ देखि १८ वर्षकालाई खोप दिनेबारे छलफल

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई करोड ५० लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप चाहिने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना सङ्क्रमणको अहिलेको अवस्था, रोकथामका लागि भइरहेको प्रयास र खोपको विषयमा ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले दुई करोड ५० लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले नेपालमा १८ वर्षमाथिका दुई करोड १५ लाख जना र १२ देखि १८ वर्ष उमेर समूहका ३५ लाख गरी साढे दुई करोड नागरिकलाई खोपको आवश्यकता पर्ने जानकारी प्रधानमन्त्रीलाई दिएको बताए ।

नेपालमा अहिलेसम्म १८ लाख २८ हजार जनाले कोभिशिल्डको पहिलो मात्रा र चार लाख ६० हजार सात सय ३४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । यस्तै भेरोसेलको पहिलो मात्रा सात लाख ९२ हजार नौ सय जनाले र दोस्रो मात्रा ६ लाख ४८ हजार जनाले लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै डोज खोप लगाउनेको संख्या ११ लाख ९ हजार छ ।

यसैबीच नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने विषयमा स्वास्थ्य मन्त्रालयले छलफल थालेको छ । यो उमेर समूहलाई अमेरिकी फाइजर खोप प्रभावकारी हुने भएकाले कोभ्याक्स सुविधा अन्तर्गत खोप सहयोगको लागि पहल भइरहेको र उच्चस्तरबाट पनि आग्रह गर्न सकिने सुझाव स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

यस्तै फाइजर खोप ल्याएमा नेपालमा भण्डारण र वितरणमा के–कस्तो प्रबन्ध छ भनेर प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्नेमा त्यो सुविधा नेपालमा नभएको स्वास्थ्यका अधिकारीले बताएका छन् । तर खोप आउने सुनिश्चित भएमा युनिसेफ र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाले भण्डारणका लागि सहयोगको वचन दिएका मन्त्रालयले जनाएको छ । उज्यालो अनलाइनबाट

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस