रुकुम पश्चिममा निर्माणाधिन पुल भत्कियो

रुकुम पश्चिम । राप्ती लोकमार्ग अन्र्तगत रुकुम पश्चिमको बैरागीठाँटी खोलामा निर्माणाधिन पक्की प्रिस्ट्रेस पुल भत्किएको छ । मुसिकोट नगरपालिका ४ र १२ को सिमानामा निर्माणाधिन ३५ मिटर लामो पुल सोमबार बिहान साँख खोलाको बाढीले भत्किएको हो।

केहीदिन भित्र सक्ने गरी निर्माणाधिन पुल बाढीले भत्काउँदा झण्डै ५ करोड बराबरको क्षति भएको निर्माण कम्पनीले बताएको छ । कम्पनीका कन्ट्याक्ट म्यानेजर हिरा लामाका अनुसार पुलको आधा भाग आरसीसी गरिएको र बाँकी ढलान पनि सकिनै लाग्दा खोलाको बाढीले भत्किएको छ ।

लामो समयको कोरोना र लकडाउनको कारण देखाउँदै बन्द रहेको पुलको झण्डै ९० प्रतिशत काम पूरा भईसकेका थियो । तर केही दिन अघिबाट मात्रै निर्माण कार्य शुरु गरेको पुलको काम नसकिंदै बाढिले भत्काउँदा पुनः पुरानै अवस्थाबाट पुल निर्माण गर्नुपर्ने भएको छ ।

१४ वर्षअघि बैरागी ठाँटीमा निर्माण गरिएको बेलिब्रीज जिर्ण बनेपछि उक्त खोलामा प्रिस्ट्रेस ब्रिज निर्माण गर्न लागिएको हो । सल्याणको पटारेखोला पुल र बैरागीठाँटीमा भत्किएको पुलको लागत १० करोड रहेकोमा पटारेखोला पुल भने गतवर्ष नै सञ्चालनमा आईसकेको छ ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस