सतर्क रहन तुलसीपुरका मेयर पाण्डेको आग्रह
दाङ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले वर्षातको समयमा सतर्क रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नगर प्रमुख पाण्डेले केही दिनयतादेखि लगातार वर्षात भइरहेका कारण खोला र नदीमा पानीको बहाव बढ्न थालेकाले खोला छेउछाउ र सम्भावित डुबान क्षेत्रमा बसोबास गरेका नगरवासीलाई सतर्क र सजग हुन आग्रह गरेका छन् । खेतीपाती गर्ने र काम विशेषले घरबाहिर जाँदा, हिँडडुल गर्दासमेत विशेष ख्याल गर्न आग्रह गरेका छन् ।
त्यसैगरी नगर प्रमुख पाण्डेले बाढी पहिरोको समस्यामा परेका जुनसुकै नागरिकले कुनै सहायता आवश्यक परेमा नजिकको प्रहरी, वडा कार्यालय र जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका ६ ले अविरल वर्षातका कारण कहिँकतै समस्या परेमा सम्पर्क गर्न आग्रह गरेको छ । वर्षात्, डुबान, बाढी पहिरोका कारण कहिँकतै घर, गोठ भत्किएमा, कुला नाला थुनिएका र भौतिक संरचना क्षति पुगेमा डोजरको व्यवस्था गरेकाले ९८५७८२१०९१, ९८५१२४४३५ सम्पर्क गर्न वडा सदस्य दुजमान भण्डारीले आग्रह गरेका छन् ।