दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेडको अभाव

तुलसीपुर । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेडको अभाव भएको छ । पछिल्लो समय जिल्लाका कोरोना संक्रमितहरु बढ्दै गएपछि बेडको अभाव रहेको हो । २५ जना सम्म राख्न मिल्ने क्षमता भएको अस्पतालमा बेडको अभाव भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले बताए ।

उनका अनुसार अहिले अस्पतालमा २६ जना कोरोना संक्रमितहरु रहेका छन् । ति मध्य ५ जना आइसीयुमा बेडमा र २१ जना एचडियु बेडमा रहेको अस्पतालले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालयको भवनमा रहेको कोरोना विषेश अस्पताल छ । उक्त भवनको तेस्रो तलमा आयुर्वेद अस्पताल र दोस्रो तलमा आयुर्वेद चिकित्साशास्त्र अध्ययन गर्ने विएएमएसका विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । अन्य बेडहरु थप्नको लागि ठाउँ र जनशक्ति थप भएमा करिब ५०÷५५ जना विरामीहरु राखेर उपचार गर्न सकिने ब्यवस्थापक वलीले बताए । ‘अहिले अस्पतालमा संक्रमितहरु खाने ठाउँ छैन्,’ उनले भने,‘ मलाई अहिले पनि भर्ना गरिदिनको लागि फोन आइरहेको छ ।

अस्पतालमा राख्ने ठाउँ छैन् । अब अस्पतालमा बेडहरु थप नगर्ने हो,भने स्थिति गाह्रो हुने छ । ’ त्यस्तै, तुलसीपुर उपमहानगरपालिकामा शनिवार ३ जना विद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६ देखि ५७ बर्ष सम्म उम्मेरका रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा , ५ जना नेशनल प्याथ ल्याव, र ४ जनाको कोहलपुर मेडिकल कलेजमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेशनमा पठाएको छ, भने १ जना होटल आइसोलेशनमा रहेको र बाकि सबै होम आइसोलेशनमा रहेको उनले बताए ।

यो संगै तुलसीपुरमा कोरोना सक्रिय संक्रमित संख्या ५२ पुगेको छ । उनका अनुसार ७ जना भेरी आइसोलेशनमा, ८ जना बेलझुण्डी कोरोना विशेष अस्पतालमा , होटलमा २ जना, २ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र २९ जना होम आइसोलेशनमा रहेको छन् । हाल बेलझुण्डी कोरोना विशेष अस्पतालमा बेड भरिएकोले संक्रमितहरु राख्न बेड नहुदाँ समस्या भएको समेत उनले बताए । प्रतिष्ठानमा आइसीयु र भेन्टीलेटर सेवा नहुदाँ अब गम्भिर विरामीहरुलाई कहाँ राख्ने भन्ने अन्यौल रहेको समेत उनले बताए ।

यता लुम्बिनी प्रदेशमा शनिबारसम्म कोरोना संक्रमितहरु मध्य होम आइसोलेशनमा ९४३ जना, संस्थागत आइसोलेशनमा १३३, आइसीयुमा ३० जना, भेन्टीलेटरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेशमा ८५ वटा आइसीयु बेड र ४० वटा भेन्टिलेटर रहेको समेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस