१४ नाल अवैध भरुवा बन्दुक बरामद
दाङ । दाङमा विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा कार्तिक १७ गते बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरिएको हो।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हापुरे, कमिरेचौर, प्रहरी चौकी हाँसिपुर, पुरन्धारा, अस्थायी प्रहरी पोष्ट कालाकाटे र अस्थायी प्रहरी पोष्ट नरैनापुरबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनका झाडी तथा ओडारमा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो।
प्रहरीले बबई गाउँपालिका-४ स्थित सामुदायिक वनको झाडीमा लुकाइराखेको पाँच नाल, बंगलाचुली गाउँपालिका-२ को सामुदायिक वनबाट एक नाल, बंगलाचुली गाउँपालिका-८ स्थित सामुदायिक वनबाट एक नाल र बबई गाउँपालिका-२ को सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
त्यस्तै, गढवा गाउँपालिका-१ को वन क्षेत्रमा लुकाइराखिएका पाँच नाल र लमही नगरपालिका-३ स्थित नारायणपुर सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले बताएको छ ।
बरामद गरिएका १४ नाल भरुवा बन्दुक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
