होटेलबाट तरवारसहित ८ जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको छ ।

शनिबार दिउसो करिब साढे ४ बजेतिर दुई वटा तरवार र एक थान खुकुरी सहित ८जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर १२ निवासी २० बर्षीय प्रकाश छन्तेल, तुलसीपुर ६ निवासी २१ बर्षीय कमल खड्का, सोही ठाउँका २१ बर्षीय टेकम डाँगी, १८ बर्षीय प्रशान्त भण्डारी १८ बर्षीय रिजन भण्डारी, तुलसीपुर ९ निवासी २४ बर्षीय सुदन वली, तुलसीपुर ५ निवासी २१ बर्षीय आशिष भण्डारी, तुलसीपुर २ निवासी २२ बर्षीय निर्दोश बुढा मगरलाई पक्राउ गरिएको हो ।

तुलसीपुर ६ स्थित सन्जित चौधरीको दारी चिया पसलमा धारिलो तरबार र खुकुरी समेत लिई गुण्डा गर्दी शैलीमा अराजक तरिकाले शान्ति सुरक्षामा नै खलल र्पुयाउने जस्ता गतिविधि गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरु विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा सात दिन म्याद थप गरि अनुसन्धान गरिएको छ । स्रोतका अनुसार उनीहरुले कुनै ब्यक्तीमाथि आक्रमण गर्ने तयारी गरिरहेका थिए । त्यो सूचना पाएलगतै पुगेको सादा पोशाकको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस